अत्तरिया – अत्तरियामा रहेको संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका संस्थापक अध्यक्ष चन्द्र बहादुर बिष्टको सभापतित्वमा आयोजित कार्यक्रमकी उपप्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेकी थिईन भने विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंक धनगढी शाखा प्रमुख कृष्ण रावल रहेका थिए ।


कार्यक्रममा बोल्दै नगरउपप्रमुख रोकायाले सहकारीहरुले नागरिकलाई स्वरोजगार बनाएको बताईन । उनले सहकारीका माध्यमबाट नागरिकहरुले विभिन्न आयआर्जन मुलक कार्यहरु गरी स्वरोजगार बनेको बताईन । उनले सहकारीहरुले न्यून आम्दानी भएका नागरिकहरुलाई आयआर्जनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्य गरिरहेको बताईन । उनले सहकारीहरुले नगरभित्र एकदमै राम्रो काम गरिरहेकाले नगरका तर्फबाट हरेक सामाजिक कार्यमा सहयोग रहने बताईन ।
२०७५ साल पुष महिनामा स्थापना भएको सहकारीले छोटो समयमा नै प्रगती गर्न सफल भएको संस्थाका कार्यकारी प्रमुख अमर कुँवरले जानकारी दिए । उनले ६ लाख शेयरपुँजी र ३२ जना शेयरसदस्यबाट सुरु भएको सहकारीमा हाल ९० लाख ३० हजार शेयरपुँजी रहेको बताए । संस्थामा आर्थिक वर्ष २०७९/०८० को असार मसान्त सम्म ७३२ जना शेयरसदस्यहरु रहेका छन ।
कैलालीको अत्तरियामा प्रधान कार्यालय रही कैलालीकै धनगढी र कञ्चनपुरको गुलरियामा गरी २ वटा सेवा केन्द्रहरु सञ्चालनमा रहेको सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १४ लाख ८६ हजार ४१७ रुपैया खुद नाफा कमाउन सफल भएको छ । उक्त आर्थिक वर्षसम्म संस्थाले १० करोड ३१ लाखको कारोबार गरिसकेको छ ।
कार्यक्रममा विभिन्न विधामा रहेर संस्थाका सदस्यहरुलाई सम्मानित गरिएको थियो ।



















