अत्तरिया – मुख्यगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मनाईने विसु पर्वको अवसरमा घर फर्किनेको अत्तरिया बसपार्कमा भिड लाग्न थालेको छ । नयाँ वर्षमा आफ्नै घरमा विसु पर्व मनाउन कामविशेषले बाहिर गएका सुदूरपश्चिमेलीहरु घर फर्कन थालेका हुन ।
कोरोना महामारीपछि वर्षाैसम्म घरबाहिर रहेका सुदूरपश्चिमेलीहरु विसु पर्व मनाउन फर्किन थालेपछि बसपार्कमा भिड बढेको बैतडी जानलाई नेपालगंजबाट अत्तरिया पुगेका दिपेन्द्र ऐरले बताए । उनले पहाड जानलाई गाडीमा सिट पाउनै मुस्किल हुने गरेको उनले बताए । ‘नयाँ वर्षको अवसरमा काम विशेषले पहाड जान थालेको गाडीमा सिट पाउनै मुस्किल भयो’ उनले भने ‘एक जना साथीलाई अगाडी नै सिट बुकिङ गर्न लगाएको भएपनि बसको लास्टमा परेको छु ।’ उनले बसमा सिट नभएर कोच्चिएर भएपनि गन्तव्यमा जानुपर्ने बाध्यता रहेको बताए ।


विसु पर्व मनाउन कञ्चनपुरको झलारीबाट अत्तरिया पुगेकी गिट्टी पुजाराले बस नपाएर हैरान भएको बताईन । उनले झलारीबाट पुख्र्याैली घर बझाङ जानलाई ३ बजे दिउँसो नै अत्तरिया बसपार्क पुगेपनि गाडी पाउन नसकेको गुनासो पोखिन । ‘विसु मनाउन पहाड चैनपुर जानलाई आएकी हु, अहिलेसम्म गाडी पाएकी छैन’ उनले भनिन् ‘एउटा गाडी त पाईयो तर त्यसमा सिट कम हामी मान्छे धेरै भएर गएनौ ।’ उनले ३ बजेदेखी गाडीको खोजी गरिरहेको भएपनि सिट नपाएको बताईन । यो समाचार तयार पार्दासम्म उनले गाडी पाउन सकेकी थिईनन् ।

नयाँ वर्षमा कामको सिलसिलामा घरबाट बाहिर रहेकाहरु सबै घर फर्किने भएकाले भिडभाड ज्यादा भएको गोदावरी चेक पोष्टका सई प्रकाश धामीले बताए । उनले पछिल्लो केही दिन यता पहाडी जिल्लामा जाने सवारी साधनहरुको संख्या पनि बढेको बताए । ‘पहाडी दुई जिल्लामा गाडीहरु गैरहेका छैनन’ उनले भने ‘बाँकी रहेका ५ जिल्लाहरुमा हालसम्म यात्रुबाहक मात्रै सरदर दैनिक २५/२६ वटा जती गाडीहरु गैरहेका छन ।’
उनका अनुसार अन्य समयमा पहाडी ७ वटै जिल्लाहरुमा १७/१८ वटा यात्रुवाहक गाडीहरु जानेगरेकोमा पछिल्लो केही दिन यता भने पहाडी ५ जिल्लामा मात्रै दैनिक २५/२६ वटा सवारी साधनहरु गैरहेका छन । उनले पहाड जानेहरुमा बढी जसो बाहिरी देशमा मजदुरी गर्नेहरु रहेको देखिएको बताए । पहाडी जिल्लाहरु अछाम र बाजुरामा सवारी साधनहरु आवत जावत गरिरहेका छैनन । बसको ठक्करबाट अछामका हेमराज कुँवरको मृत्यु भएपछि आफन्तले जिल्लाको यातायात ठप्प पारेका छन् ।

बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ । देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाईने गरिन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको छ ।
हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास समेत रहि आएको छ ।
बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने र पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्दछन् । बिसु तिहारकै दिन कुलदेवताको पूजा गर्ने परम्परा रहेको छ । सो दिन कुलदेवताको पुजा गर्नलाई भएपनि कामको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किने गर्दछन । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती रहेको छ ।

















