धनगढी – ‘ग्लोबल मनि वीक’का अवसरमा नबिल बैंकले सुदूरपश्चिम प्रदेशमा रहेका आफ्ना १८ वटा शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि वीकका अवसरमा चैत ६ देखि १२ (मार्च २० देखि २६)सम्म करिब ११ सय जना युवा एवं विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको नबिल बैंकको कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख टेकराज भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा रहेका यी सबै शाखाले नजिकका विद्यालय र कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममार्फत “करिब ११ सय जनालाई पैसा किन बचत गर्ने, बचत गर्दा के फाइदा हुन्छ, अर्थतन्त्रमा कसरी योगदान दिन सकिन्छ, बैंक तथा वित्तीय संस्थाले देशको मनिटरीको मौद्रिक नीतिको ट्रान्समिसन मेकानिजमका रुपमा कसरी काम गर्छ” भन्ने जस्तो जानकारी प्रदान गरिएको नबिल बैंकको कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख भट्टले बताए ।

यसबाहेक डिजिटल फाइनान्सीयल लिट्रेसीसम्बन्धी जानकारीहरू जस्तैः मोबाइल तथा इन्टरनेट बैंकिङ र यसबाट कसरी सेवा लिने, यसलाई कसरी सुरक्ष्ति तरिकाले प्रयोग गर्नेबारेको जानकारी समेत उपलब्ध गराइएको उनले बताए ।

तोकिएको प्रत्येक विकट क्षेत्रमा सेवा दिनुपर्ने राष्ट्र बैंकको नीति अनुरुप सुदूरपश्चिममा नबिल बैंकले अछामको रामारोसन, डोटीको सायल, बैतडीको पञ्चेश्वर, डडेल्धुराको अली ताल, बझाङको बित्थडचिरलगायत स्थानमा पनि सेवा दिइरहेको प्रदेश प्रमुख भट्टले बताए ।
सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, उद्योग उत्पादन क्षेत्र एवं सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको राम्रो लगानी रहेको उनले बताए । उनले भने ‘कमर्सियल बैंकका ३२९ शाखा, विकास बैंकका ५२ वटा शाखा र अन्य फाइनान्स–माइक्रोफाइनान्स गरी ८४० भन्दा बढी वित्तीय संघ संस्था सुदूरपश्चिममा छन्,’ सुदूरपश्चिममा सम्भावना नै सम्भावना रहेकाले यहाँको आफ्नो लगानीले नभ्याएर बाहिरको ऋण लगानी समेत उल्लेख्य रहेको उनले बताए ।
‘सुदूरपश्चिको आम निक्षेप करिब एक खर्ब १५ अर्ब छ र ऋण १ खर्ब ४९ अर्ब छ, निक्षेप भन्दा बढी लगानी हुनु यहाँको बलियो सम्भावनाको पुष्टि हो र यसमा नबिल बैंकले पनि महत्वपूर्ण भूमिका निभाएको छ,’ नबिलका प्रदेश प्रमुख भट्टले भने ।
सुदूरपश्चिमको इकोनोमी र सुदूरपश्चिमका मानिसहरूको जीवनमा महत्वपूर्ण प्रभाव पार्नका लागि नबिल बैंकले विभिन्न काम गर्दै आएको उनको भनाइ छ ।
युवाहरूमा वित्तीय शिक्षाको जागरण ल्याउने उद्देश्यले सप्ताहिक अभियानका रुपमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनि वीक (जीडब्ल्यूडब्ल्यू) मनाइन्छ । अर्गानाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजकत्वमा विश्वका विभिन्न मुलुकमा ग्लोबल मनि वीक मनाइन्छ ।

















