अत्तरिया – कञ्चनपुरको कृष्णपुरकी पार्वती चौधरीले २ महिनादेखि लघुवित्तको किस्ता तिन बन्द गरेकी छिन् । लघुवित्तले आफूलाई ठगिरहेको भन्दै उनले किस्ता नै तिर्न बन्द गरेकी हुन । उनले आफूले लघुवित्तमा जम्मा गरेको पैसाको ३ प्रतिशत र ऋणको १५ प्रतिशत व्याज लिएको थाहा पाएपछि किस्ता तिर्न बन्द गरेको बताइन् ।
उनले किस्ता तिर्न छोडेपनि लघुवित्तले भने झिक्नै नमिल्ने भनेको बचतबाट पैसा काटिदिएको बताइन् । उनले लघुवित्तमा ऋण भन्दा बचत बढी हुँदा पनि बचत रकम फिर्ता दिन नमिल्ने भन्दै रोकेको बताइन् । लघुवित्तमा ८ बर्ष देखि जम्मा गरेको बचत जोखिममा परेको भन्दै उनी पहिलो पटक अत्तरियामा लघुवित्तहरु विरुद्ध आन्दोलन गर्न सडकमा उत्रिइन् ।

उनीसंगै सोमबार अत्तरियामा लघुवित्त नै खारेजीको माग गर्दै सयौं महिला सडकमा उत्रिएका थिए । पछिल्लो समय लघुवित्तहरुले गाउँगाउँमा ज्यादती गरेको भन्दै महिलाहरु उनीहरुको प्रतिकारमा उठ्न थालेका हुन । फुलबारीकी मथुरा सिंहले लघुवित्तको पीडामा परेका सबै महिलाहरु एक हुनुपर्ने बताइन् । उनले लघुवित्तका विरुद्ध आफुहरु जिल्ला देखि केन्द्र सम्म संघर्ष गर्न तयार रहेको बताइन् । उनले लघुवित्तहरुको ज्यादती अति भएपछि आफूहरु आन्दोलन गर्न बाध्य भएको बताइन् ।
‘अहिले लघुवित्तहरुबाट ५ लाख ऋण लिएर २ लाख तिरेपछि पनि हाम्रो ऋण कहिले घट्दैन । हामीले महिना महिनामा सुरु देखि अन्तसम्म उहि सावा व्याज तिनुपर्छ’ उनले भनीन् ‘कृषि बैंक लगायत अरुबैंकबाट ऋण लिएमा साँवा, व्याज घट्छ तर यसमा घट्दैन् ।’ लघुवित्त जनताको शोषण गर्नकै लागि स्थापित भएको बताइन् ।
सितला देवी सुनारले लघुवित्तका कारण धेरै महिलाको विचल्ली भएको बताइन् । उनले महिला दिदीबहिनीलाइ बिचल्ली पार्ने लघुवित्तलाई सरकारले नै संरक्षण दिइरहेको बताइन् । ‘लघुवित्तको ज्याजतिले घरखेत, गाइभैंसी सबै लगिसकेको छ । लघुवित्तले मर्न बाध्य बनाएको छ । पहिले भारतबाट डाकु आयो भनेर हामी लुक्ने गथ्र्यौ भने अहिले लघुवित्तका कारण भारत गएर लुक्नुपर्ने अवस्था आएको छ’ उनले भनीन् ‘हामीले कहाँ गएर न्याय पाउने हो । धेरै महिला भागेर भारत गइसकेका छन । दिदीवहिनी मर्दै छन ।’
उनले लघुवित्तले आफूहरुले जम्मा गरेको पैसाको हिसाव समेत नदिने गरेको बताइन् । ‘लघुवित्तका हाकीमले ३ लाख सम्म तलब खाने गरेका छन । त्यो पैसा कहाँबाट आयो’ उनले भनीन ‘यी लघुवित्तले हामीहरुलाई लुटेर यो पैसा कमाएका छन् ।
लालझाडीकी पार्वती साउँदले आफ्नो गाउँमा लघुवित्तका कारण २ जनाले आत्महत्या गरिसकेको बताइन् । उनले घरमा भएका टिभी फ्रीज पनि बिक्री गरेर पनि घरमा ताला लगाएको बताइन् ।
केन्द्रिय सदस्य तारा गिरीले लघुवित्तबाट शोषण हुन थालेको १० बर्ष हुन थालेको बताइन् ।
‘हामीले उतिबेला बुझेनै लघुवित्तले जुकाले रगत चुसे जसरी शोषण गर्छ भनेर’ उनले भनीन् ‘तिनीहरुको बिभिन्न लोभ लालचमा समुहहरुमा आवद्ध भयौ । अहिले त्यसको चपेटामा देशभर ५८ लाख दिदीबहिनीहरु परेका छन ।’ उनले लघुवित्तले गाउँघरमा जनतालाई ठगेर लुटिरहेको बताइन् । उनले लघुवित्तले आफूहरुले लिएको ऋण भन्दा बढी बचतका नाममा पैसा खाइसकेकाले आफूहरुको सम्पुण ऋण मिनाहा हुनुपर्ने बताइन । उनले लघुवित्तले आफूहरुलाई बार्षीक ३ प्रतिशत व्याज दिएर १५ प्रतिशत व्याज लिइरहेको बताइन् ।
सुदुरपश्चिम उपाध्यक्ष सुकमाया मुक्तानले बिना धितो ऋण दिने भने लधुवित्तहरुले लुटेको पनि थाहा नपाएको बताइन् । ‘घरमै चुलोचौको गरेर बसेका दिदीबहिनीहरुलाई लघुवित्तबाट आएकाहरुले बचत गर्नुस व्याज पाउनुहुन्छ भनेर आज लाखै महिला पीडीत भएका छन’ उनले भनीन् ‘लघुवित्तहरुले १ लाखको कागज बनाएर ८५ हजार दिन्छन । अनी २८ दिनमै १ लाखकै सावा र व्याज तिर्नुपर्छ । तर, १२ बर्ष सम्म पनि बचत भएको हिसाव किताब छैन ।’

लघुवित्तले सोझा साझा दिदीबहिनीलाई कालोसुचिमा राख्ने जग्गा लिलाम गर्ने नाममा धम्की दिइरहेको उनले बताइन । उनले १२ बर्ष जम्मा गरेको हिसाव दिएर आफ्नो सबै पैसा लगेर जान आग्रह गरीन् । उनले आफ्ना माग पुर गर्न मर्न र मार्न पनि तयार भएको बताइन ।
‘अलिहे लघुवित्तले दिदीबहिनीहरुलाई विधवा जस्तो बनाएको छ । नाकमा भएको एउटा फुली पनि बेचेर किस्ता तिर्नुपरिरहेको छ’ उनले भनीन् ‘लघुवित्तको ज्यादती रोक्न सबै महिला एक हुन आवश्यक छ ।’
लघुवित्त सस्थाको ज्यादती विरुद्धको अभियानमा संक्रिय अगस्त राज अधिकारीले देशभरमा बैंक, सहकारीले संचालन गरेका लगाएर ६५ वटा लघुवित्त रहेको बताए । उनले नेपालमा हाल ५८ लाख दिदीबहिनीहरु लघुवित्तमा आवद्ध भएको र, त्यसमा ३३ लाख दिदीवहिनीहरु ऋणी भएको बताए । उनले ३३ लाख दिदीबहिनीले ऋण निकालेका कारण २५ लाख दिदीबहिनीको बचत पनि फिता नभएको बताए ।
लघुवित्तका कारण ५ हजार घर लिलाम भएको, ३ हजार डिभोस भएको, १३ सय महिलाले आत्महत्या गरेको उनले बताए । उनले सुदूरपश्चिममा मात्रै ३ सय महिलाले लघुवित्तको ज्यादतीका कारण आत्महत्या गरेको बताए ।
उनले लघुवित्तले ४५ प्रतिशत सम्म व्याज असुली गरेको बताए । ‘एक लाख ऋण दिदा बिभिन्न सेवा शुल्क, बिमाका नाममा १५ हजार काट्ने गरीन्छ । त्यसपछि ८५ हजार ऋणीलाई दिइन्छ जसलाई १३ किस्तामा तिर्न लगाइन्छ सुरुको किस्ता १० हजार हुँदा अन्तिम किस्ता पनि १० हजार नै हुन्छ’ उनले भने ‘यसरी १ लाख ऋण लिनेबाट १ लाख ३० हजार किस्ताका नाममा असुलिन्छ । १५ हजार सेवा शुल्क पनि गरेर १ बर्षमा १ लाखको १ लाख ४५ हजार तिर्नुपर्छ ।’
उनले समाजमा लघुवित्तको ऋणमा कारण दिदीबहिनी अपमानित भएर बस्नु परेको बताइन । उनले सुरुमा केन्द्र कोषका नाममा ५ रुपैयाँ लिएर अहिले सम्म २ करोड पुग्दा पनि त्यसको हिसाब नै नभएको बताए । उनले लघुवित्तको कारण ३ लाख दिदीबहिनी भारत पलायन भएको बताए ।
उनले महिलाका नाममा भएको सामुहिक ऋण मिनाहा हुनुपर्ने बताए । उनले अहिले लघुवित्तले महिला दिदीवहिनीबाट १ खरब भन्दा बढी रकम दैनिक बचतमा जम्मा गरिसकेको तर त्यसको व्याज ३ प्रतिशत मात्रै दिइरहेको बताए ।
लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपालका उपाध्यक्ष तथा सुदुरपश्चिमका अध्यक्ष मनिराज चौलागाईंले लघुवित्तहरुलाई मान्छे मार भनेर सरकारले लाइसेन्स दिएको बताए । उनले लुघुवित्तका कारण आज १ हजार ४८५ दिदीबहिनी आत्महत्या गरेको बताए ।
उनले भने ‘यसरी भइरहेका आत्महत्याको कारणको खोजिनीति गर्न सरकारले तदारुकता देखाउनु पर्छ । वहाहरुलाई मर्न बाध्य पार्नेलाई जेल हाल्नुपर्छ । उनले लघुवित्त खारे गर्नुपर्ने, सामुहिक रुपमा लगाएको ऋण मिनाहा गर्नुपर्ने, किसान गरिव जनतालाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने, क्षमतामा आधारीत धाम र कामको व्यवस्था गरिनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।
लघुवित्तको विरुद्धमा सडकमा उत्रिएका महिलाहरुले सोमबार अत्तरियाको पहाड रोडमा बसेर करिब २ घण्टा चक्काजाम गरेका थिए । उनीहरुले सडकमा दिउँदै मैनबत्ती बालेर सरकारलाई माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका थिए । उनीहरुले ‘बाचौ बचाऔं र अघिबढौ, लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध एक जुट हौ’ भन्ने नाराका साथ बिभिन्न मागहरु राख्दै प्रदर्शन गरेका थिए ।

















