अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालीत सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २७ गतेदेखी माघ ९ गतेसम्म सञ्चालीत महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको हो । संघले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्षको महोत्सवले करिब १० लाख नाफा कमाएको जनाएको छ ।
‘टिकट विक्रि र अन्य विविध आम्दानीबाट उठेको रकम सोही समय खर्चमा मिलाएका छौ’ संघका अध्यक्ष अशोकराज देवकोटाले भने ‘केही उठ्न बाँकी रकम छ, त्यो उठेको खण्डमा करिब १० लाख जती यसपटक नाफा हुने अपेक्षा गरेका छौ ।’ उनका अनुसार महोत्सवको टिकट विक्रिबाट यो वर्ष २४ लाख ४४ हजार रुपैया आम्दानी भएको छ भने सिजनल टिकट विक्रिबाट १६ हजार ५ सय रुपैया उठेको छ ।

यसैगरी स्टल भाडाबाट ६ लाख ४३ हजार १ सय ५० रुपैया र रमाईवलो मेलाबाट ३ लाख रुपैया आम्दानी भएको अध्यक्ष देवकोटाले बताए । सबै मिलाएर महोत्सवबाट ३४ लाख ३ हजार ६ सय ५० रुपैया आम्दानी भएकोमा कलाकारमा मात्रै १४ लाख ३४ हजार १ सय रुपैया खर्च भएको अध्यक्ष देवकोटाले बताए । उनका अनुसार प्रचारप्रसारमा ९३ हजार, -यालीमा १५ हजार, प्रिन्टिङमा १ लाख ४ हजार, सेक्युरिटीमा २ लाख ८५ हजार र टेन्टमा ३ लाख ८० हजार ५ सय रुपैया खर्च भएको छ ।

यस्तै वाद्यवाद्यनमा २१ हजार ८ सय, ईन्धनमा ९९ हजार ३ सय २५, यातायातमा ५० हजार, विविधमा १ लाख ८८ हजार ८ सय ९३, फुलमा २४ हजार, बिमामा २० हजार ३ सय ६२, एम्प्लीफायर खरिद तथा मर्मतमा २० हजार ४ सय १०, टिकट छपाईमा ६० हजार, लेबर ज्यालामा ४५ हजार ८ सय, सुरक्षाकर्मीको नास्तामा ९ हजार ५ सय, सामान ढुवानीमा ११ हजार, कर्मचारी ड्रेसमा १६ हजार, पुरस्कारमा ४ हजार ५ सय, ट्याक्टर भाडामा ८ हजार र विद्युत धरौटीमा ५० हजार खर्च भएको उनले बताए । उनले नगदमा भएको कारोबार अनुसार उक्त रकम मिलान गरिएको र त्यसमा केही रकम तिर्न र उठाउन बाँकी रहेको बताए ।
अध्यक्ष देवकोटाका अनुसार संघले १८ लाख २० हजार रुपैया अझै उठाउन बाँकी छ भने १२ लाख ७४ हजार ९ सय २३ रुपैया तिर्न बाँकी छ । उठाउन बाँकी रकम सहित महोत्सवले कुल ५२ लाख २३ हजार ६ सय ५० रुपैया आम्दानी गरेको आयोजकले जनाएको छ । त्यसमध्ये तिर्न बाँकी रकम सहित जोडेर ४२ लाख १६ हजार ३ रुपैया खर्च देखिएको अध्यक्ष देवकोटाले जानकारी दिए । उठ्नुपर्ने रकम उठेमा यसपटकको महोत्सवबाट करिब १० लाख ७ हजार ६ सय ४७ रुपैया नाफा हुने उनले बताए ।
महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । महोत्सवमा १५० ओटा स्टल रहेका थिए भने लामीतालमा डुंगाको व्यवस्था र बाल उद्यान पनि राखिएका थिए । महोत्सवलाई करिब ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान भएपनि कारणवश त्यसो हुन नसकेको अध्यक्ष देवकोटाले बताए । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट दर कायम गरिएको थियो ।
साथै संघले वार्षिक साधारण सभा र नयाँ नेतृत्व चयनका लागी सदस्यता नविकरण र नयाँ सदस्यता दर्ताका लागी सुचना जारी गरेको छ । बिहिबार नै बसेको संघको बैठकले संघमा आवद्ध सदस्यहरुको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिन चाहनेका लागी यही फागुन २० गतेसम्मको समयावधी तोकिएको छ । नयाँ सदस्यहरुले संघको नयाँ नेतृत्वका लागी हुने निर्वाचनमा समेत सहभागीता जनाउन पाउने अध्यक्ष देवकोटाले बताए ।


















