खाेज्नुहाेस

सिसिटिभी क्यामेरा मर्मतमा लापरवाही : प्रहरी संग बजेट छैन्, मन्त्रालय संग नीति छैन्

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अत्तरियामा जडान गरेका सिसिटिभी क्यामेरा अझै मर्मत हुन सकेका छैनन् । मन्त्रालयले प्रहरीलाई हस्तान्तरण गरेका क्यामेरा लामो समय देखि बिग्रीएका भएपनि मर्मन नभएका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्र राज उप्रेतीले अत्तरिया क्षेत्रमा प्रदेश सरकार मार्फत जडान भएका २३ क्यामेरा बन्द अवस्थामा रहेको बताए ।

उनले यस क्षेत्रमा गोदावरी नगरपालिकाले पनि २४ वटा क्यामेरा जडान गरेकोमा अहिले १८ वटा मात्र चालु रहेको बताए । ‘स्थानीय तहले जडान गरेका अरु क्यामेरा मर्मतको काम भइरहेको हामीले जानकारी पाएका छौ’ उनले भने ‘स्थानीय तहले प्रदेश सरकारले जडान गरेका सिसिटिभी क्यामेरा पनि मर्मत गरिदिने भनेको छ । सायद २/४ दिन भित्रमा बन्छ होला ।’

attariya hospital

करिब डेढ बर्ष अगाडी मात्रै पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले १३८ स्थानमा सिसिटिभि क्यामेरा जडान गरेको थियो । ति क्यामेरा मन्त्रालयले २०७८ असोज ३ गते प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको थियो । १ करोड ७१ लाख ३१ हजार २ सय ५२ रुपैयाँमा जडान १३८ मध्ये अधिकांस बिग्रीएका छन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भोला बहादुर रावलले प्रदेश सरकारले सिसिटिभी क्यामेरा आफूहरुलाई हस्तान्तरण गरेको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको बताए । ‘संचालनका लागि हस्तान्तरण हामीलाई गरिएको भएपनि बिग्रेको बनाउनका लागि हामीसंग बजेट छैन् । यसअघि पनि हामीले कार्तीक महिनामा प्रदेश सरकारलाई नै अनुरोध गरेर केही ठाउँमा क्यामेरा मर्मत भएका हुन’ उनले भने ‘अहिले केही ठाउँमा चलेका छन केही ठाउँमा बिग्रेका छन ।’

navjiwan hospital

उनले अत्तरिया चोकमा नगरपालिकाले काम गर्दा क्यामेरा बिग्रीएको बताए । ‘अहिले पुनः हामीले विग्रीएका क्यामेराको विवरण संकलन गरेर मर्मतका लागि प्रदेशमा अनुरोध गरेका छौ’ उनले भने ‘हामीसंंग मर्मतको बजेट नहुँदा समस्या भएको छ ।’ उनले अत्तरिया चोकमा नगरपालिकाले काम गर्दा क्यामेरा बिग्रीएकाले नगरपालिकाले नै बनाउने बताए । अत्तरिया चोकमा गोदावरी नगरपालिकाले बिलबोर्ड हटाएर पुराना पोल हटाउँदा क्यामेरा बिग्रीएका थिए ।

क्यामेरा जडान गर्ने मन्त्रालयले मर्मत गर्ने नीति नबनाउँदा अहिले क्यामेरा प्रयोग बिहिन छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालले भने आफूहरुले प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरिसकेकाले क्यामेरा उसैको स्वामित्वमा रहने बताए ।

‘क्यामेरा प्रहरीले नै मर्मत गर्नुपर्ने हो । १ बर्ष सम्म विग्रेको भए क्यामेरा जडान गर्ने कम्पनीले नै मर्मत गर्नु कुरा थियो । अहिले १ बर्ष भन्दा बढी समय भइसकेको छ’ उनले भने ‘अहिले १ बर्ष समय सकिएपछि पनि अलिकति भएको बजेटले हामीले मर्मत गरेका थियौ ।’

उनले आफूहरुले स्वामित्व हस्तान्तरण गरेकाले प्रहरीले नै बनाउनु पर्ने बताए । उनले भने ‘अहिले मर्मत गर्नको लागि बजेट नै छैन । केही ठाउँमा बिग्रीएको सवारी साधनले भत्काएको क्यामेर मर्मत गरेर सकिएको छ ।’ उनले प्रहरीको सहजताका लागि नै सिसिटिभी क्यामेरा जडान गरिएको बताए ।

सिसिटिभी क्यामेरा बिग्रिएका कारण चोरीका घटनामा पनि संलग्नलाई पक्राउ गर्न समस्या हुन थालेको छ । अत्तरियामा दिन दहाडै गोली प्रहार गरी व्यापारीमाथि लुटपाट हुँदा पनि सिसिटिभी क्यामेरा बिग्रेकै कारण पक्राउ गर्न असहज भएको प्रहरीले बताएको थियो ।

राजमार्गमा हुने सवारी दुर्घटना पछि फरार हुने सवारी साधनलाई पक्राउ गर्न पनि सिसिटिभी क्यामेराको सहयोग लिने गरीएको छ । सुरक्षाका लागि निकै महत्वपूर्ण मानिने सिसिटिभी क्यामेरा मर्मत नहुँदा सुरक्षा चुनौती थपिएको छ । स्थानीय पुस्पराज जोशीले सुरक्षा चुनौती थपिनुको मुख्य कारण प्रशासनको फितलोपन हुनु भएको बताए । उनले अत्तरिया क्षेत्रमा पनि चोरीका घटना बढेका भएपनि जडान भएका क्यामेरा पनि मर्मत नगर्नु राज्यको गम्भिर लापरवाही भएको बताए ।