अत्तरिया – कैलालीको अत्तरियामा न्यानो लुगा किन्नेको भिड लागेको छ । अत्तरियाको पुरानो चौधरी गल्ली भत्काएको क्षेत्रमा लागेको सस्तो बजारमा न्यानो लुगा किन्नेको भिड लागेको हो ।
कच्चि संरचना बनाएर निर्माण गरिएको उक्त बजार बर्षातको समयमा डुवान पर्न थालेपछि भत्काएर ग्राभेल भरान गरिएको छ । जसका कारण सो क्षेत्रमा व्यापार गर्ने व्यवसायी विस्थापित भएका छन् । विस्थापित भएका व्यवसायीहरुले आफूसंग स्टक रहेका सामान भुइँमा राखेर सस्तोमा बिक्री गर्न थालेपछि किनमेल गर्नेको भिड लागेको छ । बिशेष गरेर न्यानो लुगा किन्नेहरु उक्त बजारप्रति आकर्षित भएका छन् ।

स्थानीय कलावती मल्लले सस्तोमा न्यानो लुगा पाइने भन्ने सुनेर किनमेल गर्न आएको बताईन् । ‘सस्तो मेला भनेर हेर्न आएका हौ । केहि सस्तो भएपनि सोचेजस्तो सस्तो त छैन । कसैले सस्तो गरेका छन । कसैले पुरानै मुल्यमा पनि बिक्री गरिरहेका छन’ उनले भनीन् ‘मैले न्यानो हाइनेक किने । हाइनेक ५ सयमा किने । सामान्यतया यो हाइनेक ८ सय सम्म पथ्र्यो । यहाँ सस्तो प¥यो ।’

उनले बजारमा कुनै निश्चित ठाउँमा यसरी नै सातामा एक दिन भएपनि सस्तो समान पाइएमा न्यून आयस्तर भएकाहरुका लागि सहज हुने बताइन् । ‘महङ्गोमा किन्नेका लागि त अत्तरियामा बजार छदै छ । अलि सस्तोमा किन्नेको लागि अत्तरियामा पनि सस्तो बजार हुन आवश्यक छ । यसरी अत्तरियामा नै सस्तो बजार भएमा यहाबाट गौरीफन्टा जानेको संख्यामा कमि आउने थियो’ उनले भनीन् ‘गौरीफन्टामा नेपाली भनेर हेपिनु पर्छ । देशीहरुले गालि पनि गर्छन । सस्तो हुन्छ भनेर गालि पनि खान जानुपर्ने हुन्छ । यहा नै सस्तोमा पाए त गौरिफन्टा जान पर्दैन ।’
स्थानीय शेर बहादुर मल्लले भने सस्तो बजार भनेपनि खासै सस्तोमा भने सामान नपाएको गुनासो गरे । ‘म बजारमा हेर्दै छु । एक जोर जुत्ता किनेको थिए । २ सय प¥यो, खासै सस्तो छैन रैछ’ उनले भने ‘पहिले यस्तो सस्तो बजार अत्तरिया नलागेको भएपनि पहिलो पटक यस्तो बजार लागेको छ । यसले निरन्तरता पाउनु पर्छ ।’

फेन्सी पसल संचालन गर्दै आएका जहर सिह बोहराले बर्षातमा पानी भरिने भएकाले पसल हटाएर माटो भरान गरिएको बताए । ‘शाहुले तपाइहरु केही दिन बाहिर बस्नुहोस् म भरान गरिदिन्छु भन्नु भएको थियो । हामीले वहाको भनाइ अनुसार नै पसल हटाएका हौ’ उनले भने ‘अहिले ग्राभेल भरान गरिएको छ । अब २/३ महिना लाग्छ रे भरान गर्नको लागि त्यसपछि हामीले पुन पसल संचालन गर्ने छौ ।’

















