खाेज्नुहाेस

कहिले फेरिन्छ सुदूरपश्चिम प्रदेश सरकार ?

Image

धनगढी – मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट चुनिएका सांसदहरूमध्येबाट नयाँ मुख्यमन्त्रीहरू तथा सभामुख र उपसभामुखहरू कहिले छानिन्छन् भन्नेबारे धेरै मतदातामा जिज्ञासा छ । अन्तिम निर्वाचन मत परिणाम आएसंगै पाँच वर्षे कार्यकाल सम्हालेका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारको कार्यकालको अन्तिम चरण नजिकिएको छ ।

संविधानतः निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिकको अन्तिम नामावली प्रकाशन गरेको ३० दिनभित्र प्रदेशमा नयाँ मुख्यमन्त्री, सभामुख र उपसभामुखहरुको टुङ्गो लगाउनुपर्ने व्यवस्था रहेको छ । संविधानको धारा १६८ उपधार ३ मा भनिएको छ– ‘प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र मुख्यमन्त्री नियुक्ति’ गर्नुपर्ने उल्लेख छ ।

attariya hospital

प्रदेशको प्रत्यक्ष र समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फका प्रदेश सभा सदस्यको नामावली पनि दलहरुले टुङ्गो लगाइसकेका छन् । यद्यपी निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन भने गरेको छैन ।

‘निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गरेको ३० दिनभित्र प्रदेशमा नयाँ सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ’ सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता भरतबहादुर खडकाले भने –‘यद्यपी प्रदेशमा कुनै पनि दलको बहुमत नभएकाले मुख्यमन्त्रीको दाबी गर्ने व्यक्तिले विश्वासको मत नपाउने देखिएकोले प्रदेशमा मुख्यमन्त्री पाउन थप केही दिन लाग्ने देखिन्छ ।’

निर्वाचनमा कुनै एक दलले बहुमत प्राप्त गरेको भए मुख्यमन्त्री नियुक्ति निर्वाचन परिणाम आएको केही दिनभित्रै हुन सक्थ्यो । संविधानको धारा १६८ ले प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्ति प्रक्रियाबारे उल्लेख गरेको छ । सो धाराको उपधारा १ मा भनिएको छ –‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने’ र उपधारा २ मा ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने’ उल्लेख छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ जना निर्वाचित भइसकेका छन् । प्रदेशमा प्रत्यक्षतर्फ नेपाली काँग्रेस १२, नेकपा माओवादी केन्द्र आठ, नेकपा एमालेले तीन, नागरिक उन्मुक्ति पार्टी पाँच, एकीकृत समाजवादी पार्टी तीन र एक स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका छन् भने समानुपातिकतर्फ नेपाली काँग्रेस र नेकपा एमालेले सात–सात, नेकपा माओवादी केन्द्र तीन, नागरिक उन्मुक्ति पार्टीले दुई, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक प्रदेश सभा सदस्यको नामावली टुङ्ग्याएर आयोगमा बुझाईसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ नेपाली काँग्रेसले कञ्चनपुरकी मधु भारती, डडेल्धुराकी सरस्वती खड्का, बाजुराकी जुनाकुमारी दानी, कञ्चनपुरकी डम्मरी महरा (रक्षा), कैलालीकी तुलसी देवकोटा, कञ्चनपुरकी गीताकुमारी चौधरी र कैलालीकी ललिता सुनारको नाम आयोगमा बुझाईसकेको छ ।

यस्तै, नेकपा एमालेले बैतडीका राजेन्द्रसिंह रावल, कैलालीका धर्मराज पाठक, बाजुराकी सन्तोषकुमारी शर्मा थापा, कञ्चनपुरकी जानकी बम ऐर, डोटी निर्मलादेवी साउद, कञ्चनपुरकी कोइलीदेवी चौधरी र हीरा सार्कीको नाम आयोगमा बुझाएको छ ।

नेकपा माओवादी केन्द्रल डडेल्धुराकी गीतादेवी माल, कैलालीकी जानकीदेवी कुँवर र दार्चुलाकी लक्ष्मी विकलाई प्रदेश सभा सदस्य बनाउन लागेको हो भने नेकपा एकीकृत समाजवादीले कञ्चनपुरकी माया पन्तलाई अघि बढाएको छ ।

navjiwan hospital

नागरिक उन्मुक्ति पार्टीले कैलालीकी सुनीता चौधरी र प्यूठानका दामोदर पण्डितलाई समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनाउन लागेको छ भने राप्रपाले कैलालीकी खिमादेवी विष्टको नाम टुङ्गो लगाएको हो ।

दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ ।

हामी तयार छौं : प्रदेश सभा सचिवालय

सुदूरपश्चिम प्रदेश सभामा प्रवेशको तयारीमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरु रहेका छन् भने सचिवालयले पनि स्वागत गर्ने तयारीमा रहेको छ ।

‘निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको छैन’ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने –‘अन्तिम नामावली आएपछि सचिवालयले पनि सोही अनुसार कार्यहरु अघि बढाउने छ ।’

उनले प्रदेश सभा सदस्यहरुलाई सभामा स्वागत गर्न आतुर रहेको बताए । उनले भने –‘अन्तिम नामावली आएलगत्तै सचिवालयले पनि सबैभन्दा ज्येष्ठ प्रदेश सभा सदस्य पहिचान गर्छ । ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलिय कार्य परामर्श बैठक गरि प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ खुवाईने छ ।’ उनले सभाको पहिलो बैठक पनि ज्येष्ठ नागरिकले सञ्चालन गर्ने गरि तयारी गरिरहेको बताए ।

काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने अडान

नेपाली काँग्रेस प्रदेशमा सबैभन्दा ठुलो दल भएकाले प्रदेशको मुख्यमन्त्री आफनै दलका प्रदेश सभा सदस्यहरुले पाउनुपर्ने दाबी गरिरहेको छ ।

प्रदेश सभामा नेपाली काँग्रेसका प्रत्यक्ष तथा समानुपातिक गरि १९ जना सदस्य रहेका छन् । सोही कारण प्रदेशको मुख्यमन्त्री दाबीबाट काँग्रेस पछि हटेको छैन । सो पार्टीबाट कञ्चनपुर सुदूरपश्चिम प्रदेश सभामा कञ्चनपुरबाट विजयी भएका नेपाली कांग्रेसका नेता बहादुरसिंह थापा मुख्यमन्त्री बन्ने दौडमा छन् । उनले गठबन्धनको निर्णय नै अन्तिम हुने बताउँदै यदि कांग्रेसले मुख्यमन्त्री पाउने भए आफू नै त्यसको दाबेदार रहेको बताए । उनले दलको नेताका लागि आफू सबैभन्दा सिनियर रहेकोले त्यसमा कुनै शंका नरहेको बताए ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाएमा डडेल्धुराबाट निर्वाचित खगराज भट्ट बलियो दाबेदार हुन । संघिय सरकारनै नबनिसक्दा र गठबन्धनको बैठकबाट प्रदेशको भागवण्डा नमिलेसम्म यस प्रदेशमा कुन दलको मुख्यमन्त्री बन्ने अहिले चासो बढेको छ ।
नेपाली काँग्रेसका नेता भरत खडकाले भने ‘प्रदेशमा नेपाली काँग्रेस सबैभन्दा ठुलो दल बनेको छ । त्यसैले मुख्यमन्त्री हामीले पाउनुपर्छ । यद्यपी निर्णय भने संघिय गठबन्धन दलको बैठकमा भर पर्छ ।’