खाेज्नुहाेस

घोषणा गरिसकिएको राजधानी पुनः चुनावी एजेण्डा बन्दै

Image

अत्तरिया – अघिल्लो प्रतिनिधि सभाले राजधानी घोषणा गरिसकेको भएपनि पुनः दोस्रो चुनावमा पनि सोही विषयलाई नेताहरुले चुनावी एजेण्डा बनाउन थालेका छन । करिब ४ बर्ष अगाडी दुई तिहाई बहुमतले कैलालीको गोदावरीमा प्रदेशको राजधानी तोकिसकेको भएपनि पुनः राजधानीको बिषयलाई नेताहरुले चुनावी मुद्ध बनाउन थालेका हुन ।

राजधानी तोकिएको क्षेत्रबाट चुनाव लडिरहेका नेताहरुले राजधानी तोकिएकै क्षेत्रमा राजधानीका संरचना बनाउने भनेर जनतालाई आश्वास्त पार्ने प्रयास गरिरहेका छन भने अन्य क्षेत्र (डोटी, डडेल्धुरा) बाट चुनाव लडिरहेका नेताहरुले भने राजधानी सार्ने भन्दै मत माग्न थालेका छन ।
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरका सामु भने अहिले राजधानीको बिषयलाई चुनावी मुद्धा बनाउनु पर्ने बाध्यात्मक परिस्थिति नै आएको छ ।

attariya hospital

बलायर स्वयमले कैलाली क्षेत्र नम्बर ४ को उम्मेदवार बन्नु पुर्व प्रदेशको राजधानी अझै पनि हावामा रहेको अभिव्यक्ति दिएका थिए । जसलाई उनका प्रतिस्पर्धी उम्मेदवारले राजधानी डोटी सार्न खोजेको रुपमा अथ्र्याएर प्रचार गर्न थालेपछि उनले अहिले हरेक जसो कार्यक्रममा यसको बारेमा स्पष्टिकरण दिनु परिरहेको छ ।

‘मैले भनेको हो राजधानी धनगढी डेरामा छ, गोदावरी हावामा छ । मैले के गलत भने ? गोदावरी जमिनमा राजधानी भए त देखिन्थ्यो होला । एउटा साईनबोर्ड त देखिएको छैन । नदेखिने ठाउँमा त हावामै हो’ बुधबार गौरीगंगामा आयोजित प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अब जमिनका बनाउका लागि हामी तत्पर छौ । हामी तयार छौ । हामी यो ४ नम्बर क्षेत्र भित्र यसको बस्तुगत भौगोलिक अध्ययन गर्ने छौ ।’

उनले राजधानी बनाउनका लागि सबैभन्दा पहिले केन्द्रबाट भोगाधिकार ल्याउने बताए । उनले भने ‘भोगाधिकार ल्याएपछि हामीले हाम्रो क्षमता अनुसार भौतिक पुर्वाधार निर्माण गर्ने छौ । हामी निर्वाचित हुनासाथ काम सुरु गर्ने छौ ।’

बलायरले बारम्बार गोदावरीमै आफूले राजधानी बनाउने दावी गरिरहदाँ उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टले भने बलायरको कुरामा विश्वास नगर्न आफ्ना चुनावी प्रचारप्रसारका कार्यक्रममा बताउँदै आएका छन ।

navjiwan hospital

डोटीलाई आधार बनाएर राजनीति गर्दै आएका बलायर यसअघिसम्म डोटीमा नै प्रदेश राजधानी हुनु पर्ने पक्षमा थिए । डोटीबाट उम्मेदवार हुँदासम्म प्रदेश राजधानी डोटीमा नै हुनु पर्ने पक्षमा रहेका बलायर प्रदेशको राजधानी तोकिएको क्षेत्रबाट नै उम्मेदवार बनेपछि उनले मतदातालाई दुई तिहाईले राजधानी घोषणा गरिएकाले सार्न नसकिने कुरा बताउन थालेका छन । तर, उनका प्रतिस्पर्धी उम्मेदवारले भने यसैलाई चुनावी मसला बनाइरहेका छन ।

एमाले सचिव समेत रहेका भट्टले भने आफूले मात्रै यस क्षेत्रमा राजधानी बनाउन सक्ने दावी गर्दै आएका छन । ‘आज हाम्रो प्रतिप्रक्षि उम्मेदवारले राजधानी डोटी लग्ने भनेको कुरा सबैले बुझेका छन, देखेका छन, सुनेका छन’ चुनावी प्रचार प्रसारकै एक कार्यक्रममा उनले भने ‘वहाँ त अहिलेको प्रविधिमा देखिनु भएको छ । पहिलेको जस्तो मेरो स्वर होइन भन्न मिलेन् । अहिले भिडियोमा मान्छेको अनुहार सहित आवाज आएको छ ।’

यस क्षेत्रबाट चुनाव लडिरहेका दुई नेता घोषणा भइसकेको राजधानीका बिषयमा आ– आफ्नो स्वार्थ अनुरुप व्याख्या गर्न थालेपछि जनतामा झन अन्योल सृजना भएको छ ।

यस क्षेत्रमा बलायर र भट्टले आफूले गोदावरीमा नै राजधानी निर्माण सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिरहँदा डोटीबाट प्रतिनिधि सभाका उम्मेदवार नेकपा एसका प्रेम आले प्रदेश राजधानी डोटीमा ल्याइ छोड्ने प्रतिबद्धता गर्दै भोट मागिरहेका छन ।

उनले गोदावरीमा संरचना नबनेको अवस्थामा डोटीका नेता मिलेर त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन । वनका कारण गोदावरीमा राजधानी बन्न नसकेको र त्यसलाई पुनर्विचार गर्ने उनको तर्क छ ।

यसअघि गत बैशाखमा पालिकाको निर्वाचनका क्रममा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी डडेल्धुरामा सार्न सकिने बताएका थिए । जसले गर्दा अझै पनि देउवा चुनाव पछि डडेल्धुरामा राजधानी बनाउने पक्षमा त छैनन् भन्नेर आशंका व्यक्त गर्ने गरिन्छ ।

४ बर्ष अगाडी घोषणा गरेर पनि राजधानीका आवश्यक संरचना बनाउन नसक्दा अहिले यो बिषय पुनः चुनावी मुद्धा बनेको हो । उता राजधानी घोषणा गरेको प्रदेश सरकार भने राजधानी बनाउने भनेर तोकेको क्षेत्रलाई संघिय सरकारले भोगचलन गर्ने अधिकार नदिदाँ राजधानीका भौतिक संरचना बनाउन नसकिएको बताउँदै आएको छ ।