खाेज्नुहाेस

अत्तरिया चोकमा ‘हाइमास्ट लाईट’ जडान गरिएपछि झिलिमिलि बन्यो

Image

अत्तरिया – रातीको ८ बजेको थियो । कोमल ओली अत्तरियाको महेन्द्रनगर रोडमा रहेको आफ्नै होटलमा बसेका थिए । बजारका अधिकांस पसल बन्द भएकाले अत्तरिया बजार अध्यारोमा हराउँदै थियो । होटलमै बसेका ओलीले अचानक बाहिर चम्किलो उज्यालो देखे । के भयो भनेर उनी आत्तिएर बाहिर आए । ‘आज पुर्णिमा त होइन् । के को उज्यालो भयो । आकाशबाट कसरी उज्यालो आयो’ उनले भने ‘अलि चोक नजिक आए । ठूलो लाईट लागेको रहेछ । अनि केही दिन अगाडी सुख्खड चोकमा लगाइएको लाईटको याद आयो ।’

सुदूरपश्चिमकै राजधानी रहेको अत्तरिया चोकमा राती पर्ने बितिकै अन्धकार हुने कुराले उनको साह्रै मन पोलेको थियो । आईतबार साँझ चोकमा अचानक लाइट बलेको देखेर उनले आफ्नो मनलाई थाम्न सकेनन र, होटलको काम छोडेर एक फन्को चोकको उज्यालोमा लगाए ।
‘अहिले म निकै खुसी भएको छु । यो खुसी साट्न पत्रकारहरु पनि संयोगले भेटिनु भयो’ उनले भने ‘यो लाईट यो ठाउँको चिनारी बन्ने छ । यसले चोकको सौन्दर्य संगै, यस क्षेत्रका दुर्घटना रोक्न मदत गर्नुका साथै चोरीका घटना पनि नियन्त्रण हुन्छ ।’

attariya hospital

चोकलाई झिलिमिलि बनाउने उक्त ‘हाइमास्ट लाईट’ गोदावरी नगरपालिकाले पहिलो कार्यपालिका बैठकबाट निर्णय गरेर राखेको हो । उक्त ‘हाइमास्ट लाईट’ को आईतबार साँझ गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका थिए ।

‘हाइमास्ट लाईट’ को उद्घाटन गर्दै उनले चोकको विकासका लागि लाइट अपरिहार्य भएको बताए । उनले लाईट जडान भएपछि रातीको समयमा हुने दुर्घटना रोक्न सहयोग पुग्नुका साथै चोरी डकैतीका घटनामा पनि कमी आउने विश्वास व्यक्त गरे ।

navjiwan hospital

‘हामीले निर्वाचित भएपछि चोकबाटै विकास निर्माणका काम सुरुवात गरौ भनेर यो कामको सुरुवात गरेका हौ’ उनले भने ‘अहिले विकसित सबैजसो सहरहरुमा यस्ता किसिमका लाईट जडान गरिएका छन । यसले चोकको सौन्दर्यता पनि बढ्छ ।’

‘हाइमास्ट लाईट’ मा ६ वटा चिम रहेका छन । जसको क्षमता ७२ सय वाट रहेको छ । उक्त लाइट टाईम सेट गरेपछि आफै बन्द हुने लाइट जडान गरेका प्राबिधिकहरुले जनाएका छन ।

गोदावरी नगरपालिकाले चोकको सौन्दर्यता बढाउनका लागि ‘हाइमास्ट लाईट’ सहित वाटर फाउन्टिन र सुदूरपश्चिमका कला संकृति झल्किने डिप्ले बोर्ड पनि जडान गर्ने योजना अगाडी सारेको छ । जसका लागि ३० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख भट्टले बताए ।

दिगो हुनेपर्ने माग

लाईट जडान पछि चोक झिलिमिलि भएपछि स्थानीयले सुखि संगै दिगो हुने नहुनेमा आशंका व्यक्त गरेका छन । अत्तरिया चोकका व्यापार गर्दै आएकी मधु पन्तले लाईट जडान भएर चोक झिलिमिलि भएपछि आफूहरु निकै खुसि भएको बताईन् । ‘यो सधैको लागि होस् । दुई दिन देखाउनका लागि मात्रै नहोस् । पार्कमा धेरै योजना ल्याइए । ती केहि दिनमै हराए’ उनले भनीन् ‘यो पनि त्यस्तै नहोस् । यो दिगो होस् ।’ उनले चोकमा राती ९÷१० बजे सम्म मानिसहरु आवतजावत गर्ने भएकाले लाईट जडान भएपनि सहज हुने बताईन ।

अत्तरिया चोकमै व्यवसाय संचालन गर्दै आएका लिलाराम सापकोटाले स्थानीय सरकार आएपछि पहिलो पटक देखिने गरी चोकमा काम भएको बताए । उनले यसलाई दिगो बनाउन आवश्यक रहेको बताए ।

सुदूरपश्चिमको मुख्य जक्सन रहेको अत्तरिया चोकमा प्रयाप्त उज्यालो हुने गरी लाईट नहुँदा राती हुने बितिकै अन्धकार हुने गरेको थियो । अत्तरिया चोक मुख्य जक्सन भएकाले यहाँबाट यात्रुहरुले सवारी साधन बदल्ने गरेका हुन्छन । रातीको समयमा चोकमा अन्धकार हुँदा यात्रुलाई बाटो ठम्याउन समेत समस्या हुने गरेको थियो । लाईट जडान भएपछि राती हिड्ने पैदय यात्रुलाई समेत सजिलो हुने भएको छ ।