खाेज्नुहाेस

शिलान्यासमै सीमित दैजी औद्योगिक क्षेत्र

Image

कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यासमै सिमित भएको छ । शिलान्यास गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य अगाडि बढेको छैन । कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको २०७७ फागुनमा शिलान्यास भएको थियो ।

व्यवस्थापनको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न कारणले शिलान्यास भए पनि त्यसपछि काम अगाडि बढ्न नसकेको जनाएको छ । बजेटको अभाव, सरकार परिवर्तन, टेन्डर आह्वान, वातावरणीय मूल्याङ्कन, बस्ती व्यवस्थापन, स्थानीयवासीको अवरोध तथा आन्तरिक व्यवस्थापनका कारणले ढिलाइ भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवक्ता प्रकाश खड्काले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कञ्चनपुर वेदकोट नगरपालिका–२ र ३ मा अवस्थित दैजी औद्योगिक क्षेत्र ४५० बिघा क्षेत्रफलमा निर्माण हुनेछ जसमा ३२ प्रतिशतमा प्लट रहने छन् ।

यसको लागत करिब नौ अर्ब रुपियाँ अनुमान गरिएको छ । दैजी औद्योगिक क्षेत्रमा रुख कटानको काम अन्तिम चरण रहेको प्रवक्ता खड्काले जानकारी दिए । तर बजेट सुनिश्चित भएको छैन ।

दैजी औद्योगिक क्षेत्रमा कृषि, खनिज, विद्युतजन्य उद्योग स्थापना गर्ने लक्ष्य छ, जसमा फलफूल तथा तरकारी, मासु प्रशोधन, म्यानुफ्याक्चरिङ, जडीबुटीजन्य, सुर्तीजन्य, कुखुरापालन, चिनी, दूधजन्य, मैदा, चाउचाउ, शिशु खाद्य, कागज, काष्ठजन्य टेक्स्टाइल, गार्मेन्ट, फलाम तथा स्टिल, कस्मेटिक र निर्माणसम्बन्धी उद्योग रहेका छन् । औद्योगिक क्षेत्र स्थापनापछि ५७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने लिमिटेडले जनाएको छ ।