खाेज्नुहाेस

अछाममा लघुवित्त कर्जाको रकम दुरुपयोग हुँदै

Image

अछाम – अछामका ग्रामीण भेगमा लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेका वित्तीय संस्थाहरूले महिला समूहमार्फत आर्थिक कारोबार गरिरहेका छन् । प्रत्येक टोलमा गठित समूहमा महिलाहरू आबद्ध छन् । समूहमा बचत गर्ने, कर्जा निकाल्ने र लगानी गर्ने उद्देश्यले गाउँगाउँमा धेरै लघुवित्त कार्यक्रम सम्बद्ध वित्तीय संस्थाको प्रतिस्पर्धा पनि बढेको छ ।

बिना धितोसमेत कर्जा पाइने भएकाले लघुवित्तमा महिलाहरूको आकर्षण बढेको छ । तर, उत्तिकै जोखिम पनि बढेको छ । कर्जा निकालेर सही ठाउँमा लगानी गर्नुको साटो दुरुपयोग हुँदा कतिको घरबार बिग्रेको छ । कतिले लघुवित्तको किस्ता तिर्न नसक्दा ठाउँ छोडेर लुकेरसमेत बस्नुपरेको छ । पछिल्लो समयमा सरकारले मान्यता नदिएका अनलाइन नेटवर्कमा समेत लघुवित्तबाट कर्जा निकालेर गाउँका सर्वसाधारण महिलाले लगानी गरिरहेका छन् ।

attariya hospital

मंगलसेन नगरपालिका–५ की मीना (नाम परिवर्तन) ५ वटा लघुवित्त संस्थाले बनाएका समूहमा आबद्ध छिन् । पछिल्लो समयमा हाइफर फन्ड नामक अनलाइन व्यापारमा फाइदा हुन्छ भन्ने थाहा पाएपछि छिमेकी लघुवित्तको वित्तीय संस्थाबाट उनले ३ लाख रुपैयाँ कर्जा निकालिन् । मंगलसेनमा नेटवर्क बनाएका चिनजानका व्यक्तिलाई त्यो पैसा दिइन् र हाइफर फन्डमा लगानी गरिन् । अरूको देखासिखी र लहैलहैमा लागेर लगानी गरेकी मीना अहिले भने तनावमा छिन् । चार महिना पूरा हुँदा पनि उक्त नेटवर्कबाट उनले केही फाइदा पाएकी छैनन् ।

navjiwan hospital

‘सबैले हाइफर फन्डमा लगानी गरे । केही महिनामा दोब्बर कमाइ हुन्छ भन्ने सुनेर मैले पनि लघुवित्तबाट कर्जा निकालेर लगानी गरे । तर, अहिलेसम्म कुनै फाइदा भएको छैन । छिमेकी लघुवित्तमा महिना पुग्नेबित्तिकै किस्ता तिर्नुपर्छ । अहिले धेरै तनाव भएको छ,’ उनले भनिन्, ‘सजिलै कर्जा पाइने भएकाले पनि मेरो लगानी अनावश्यक ठाउँमा गयो ।’ लघुवित्तबाट कर्जा निकालेर उद्देश्यभन्दा बाहिर गएर लगानी गर्ने मीना प्रतिनिधि पात्र मात्रै हुन् । आफूजस्ता थुप्रै महिलाले कर्जा निकाल्ने तर लगानी सही ठाउँमा नगर्ने गरेको उनको भनाइ छ ।

मंगलसेन नगरपालिका–३ की रिता (नाम परिवर्तन) ७ वर्षअघिदेखि लघुवित्तका समूहमा पैसा बचत गर्न थालिन् । उनी ६ वटा लघुवित्तमा सदस्य भएकी छन् । लघुवित्तले सहजै कर्जा दिने थाहा पाएपछि उनका श्रीमान्ले कर्जा निकाल्न आग्रह गर्न थाले । किस्ता तिर्न सक्ने आयस्रोत केही नहुँदा पनि उनले कर्जा निकालिन् । सहजै ढंगबाट कर्जा पाइन थालेपछि उनले आफ्नो र केही छिमेकीको लालपुर्जा राखेर २५ लाखभन्दा धेरै कर्जा पटकपटक निकाले ।

केही पैसाले घर बनाउन थालेपछि छिमेकीले पनि पत्याए । तर अहिले मासिक किस्ता, साँवा, ब्याज पनि तिर्न नसक्ने अवस्था भएपछि उनको उठिबास भएको छ । श्रीमती छोराछोरी कुन ठाउँमा छन् भन्ने पनि थाहा छैन । ‘कर्जा दिँदा समूहका सबै महिलाहरूलाई साक्षी राखेर मात्र दिने गर्छौं । त्यसको अर्थ कर्जा लिने महिलाले तिर्न नसकेको अवस्थामा समूहका सबै महिलाले तिर्छौं भन्ने हो । अहिले समूहका महिलाहरूले नै पैसा उठाएर किस्ता तिर्ने गरेका छन्,’ स्वावलम्बन लघुवित्त वित्तिय संस्थाकी कर्मचारी चक्रेश्वरी ढुंगानाले भनिन् । कर्जा तिर्न नसक्ने महिलाका कारण अन्य महिला मारमा परेको उनीहरूको गुनासो छ ।

लघुवित्तका समूहमा बचत गर्ने महिलाहरूले हिसाब नै नबुझ्ने गरेको मंगलसेनकी जानकी बोहरा बताउँछिन् । ‘बचत गरिरहेका हुन्छौं । के कति पैसा जम्मा भयो भन्ने जानकारी सहजै पाउन गाह्रो छ । साधारण महिला बचत गरिरहेका छन् । तर, हिसाब गर्न पनि जान्दैनन् । कुरा नबुझेर धेरै महिला समस्यामा परेका पनि छन्,’ उनले भनिन्, ‘कर्जा निकाल्ने बेला सूमहका महिलाहरू साक्षी बस्नुपर्छ । लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्ने महिलाले कर्जा निकाल्दा साक्षी बस्न पनि गाह्रो नै हुन्छ । नबसौं भने पनि गाउँका जेठानी देवरानीबीचको सम्बन्धको कुरा छ । कर्जा लिएको रकम सही ठाउँमा सदुपयोग भने भएको छैन ।’ उनका अनुसार कर्जा निकाल्ने तर तिर्न सक्ने अवस्था नभएपछि मंगलसेन बजारभित्रका ४ परिवारले ठाउँ छोडेर पलायन छन् ।