अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ बडेहामा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खम्म बुढाले आफ्ना बुवा, आमा तथा ठुलो बुवा, ठुलो आमा को नाममा विद्यालयमा १ लाख १ हजार १ सय ११ को अक्षयकोष स्थापना गरेका हुन ।
उनले स्वर्गिय बुवा खड्ग, स्वर्गिय ठुलो बुवा, ठुलो आमा चन्द्र, पवित्रा र आमा राजुदेवीको नाममा चन्द्र पवित्रा खड्ग स्मृति राजुदेवी बुढा अक्षयकोष स्थापना गरेका छन ।


अनाथ, जेहेन्दार तथा गरिब विद्यार्थीहरुको उचित शिक्षाको लागी अक्षयकोष स्थापना गरेको अध्यक्ष बुढाले बताए । उनले कमजोर आर्थिक स्थितिकै कारण कसैले पढाई छोड्न नपरोस भनेर आफुले उक्त कार्यको थालनी गरेको बताए । बुढासहित विद्यालयमा ४ जनाले अक्षयकोष स्थापना गरेका छन ।
गोदावरी नगरपालिका – ६ भुयराका डिल्लीराज बडु र कुमारी देवी बडुले १ लाख १ हजार १ सय ५ रुपैया बराबरको डिल्लीराज कुमारी देवी बडु अक्षयकोष स्थापना गरेका छन भने गोदावरी नगरपालिका – ७ का स्थानिय गौरीलाल ओझाले १ लाख १ हजार बराबरको भिमदत्त गोमती ओझा स्मृति अक्षयकोष स्थापना गरेका छन ।
यसैगरी गोदावरी – ६ बडेहाका खगराज पाठक र डम्मरी देवी पाठकले रु. १ लाख १ रुपैया बराबरको गणेश सारदा स्मृति अक्षयकोष स्थापना गरेका छन । विद्यालयमा स्थापित अक्षयकोषले विद्यालयमा अध्ययनरत अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।















