खाेज्नुहाेस

कोरोना संक्रमित बढेपछि कञ्चनपुरका आइसोलेसन भरिए

Image

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ३ दिनमा ६० जना कोरोना संक्रमित भर्ना भएका छन् । नाकामा संक्रमित देखिएका सबैलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्ने गरिएको छ ।

सोमबार ४ जना संक्रमित थिए भने मंगलबार ७ जना थपिए । बुधबार आइसोलेसनमा भर्ना हुनेको संख्या ६० पुगेको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले बताए ।
‘सबैमा रुघाखोकीलगायत सामान्य लक्षण मात्रै देखिएको छ,’ उनले भने । उनका अनुसार अस्पतालको आइसोलेसनमा ५० बेडमात्रै छन् । केही बेड थपेर ६० जनासम्म राखिएको छ । थप संक्रमित आए राख्ने अवस्था छैन ।

attariya hospital

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बिहीबार ३९ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट घर फर्किनेहरूको गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा २९ र महाकाली अस्पतालमा पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । बुधबार ५२ जना संक्रमित भेटिएका थिए । कैलालीको गौरीफन्टा नाकामा पनि बुधबार ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।

navjiwan hospital

‘भारतबाट आउनेमा बढी संक्रमण देखिएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनारले भने, ‘अब जोखिम बढ्न थाल्यो, सबैले सतर्क हुनुपर्ने बेला आयो ।’ भारतबाट आउनेहरूको नाकामा व्यवस्थित ढंगले परीक्षणसँगै कडाइ गर्नुपर्ने उनले बताए ।

गड्डाचौकी नाका भएर चल्ने नेपाल–भारत मैत्रीबसमा संक्रमितको संख्या बढी देखिएको छ । बुधबार दिल्लीबाट आएको एउटै बसका १० जनामा संक्रमण देखिएको छ । महाकाली प्रादेशिक अस्पतालमा बुधबार भर्ना भएका ३५ जना हरिद्वार तीर्थयात्राबाट फर्केका वृद्धवृद्धा छन् । मंगलबार पनि गड्डाचौकी नाकाबाट फर्किने ८ जनामा संक्रमण पुष्टि भएको थियो । नाकामा एकै दिन ठूलो संख्यामा संक्रमण देखिएपछि सीमावर्ती क्षेत्रमा त्रास पैदा भएको छ ।

यसैबीच, कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको परीक्षण महाकाली प्रादेशिक अस्पतालमै गर्ने तयारी थालिएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. रोकायाका अनुसार शुक्रबारदेखि ओमिक्रोन परीक्षण सुरु गरिनेछ ।

‘सुदूरपश्चिममा हामीसँग भएको पीसीआर मेसिनबाट मात्रै ओमिक्रोन परीक्षण हुने देखिएको छ,’ उनले भने, ‘त्यहीअनुसार तयारी गरेका छौं ।’ अहिले ओमिक्रोन परीक्षणका लागि नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा पठाउनुपर्ने बाध्यता छ ।