अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँदले नगरपालिकाबाट कुनै कर्मचारीमा माथि बिभेद नगरिएको बताएका छन । बुधबार नेपाल निजामती कर्मचारी संगठन गोदावरी नगरपालिका इकाई कार्य समितिको प्रथम नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले नगरपालिकाले कुनै कर्मचारीलाई फरक राजनीतिक आस्थाकै आधारमा कुनै प्रकारको भेदभाव नगरेको बताए ।

उनले कर्मचारीले दृढताका साथ उभिएर काम गर्न आवश्यक रहेको बताए । ‘सही काम गर्दा कसैले पनि आत्तिनुपर्ने आवश्यकता छैन’ उलने भने ‘राम्रो कामका लागि निडर भएर काम गर्नु पर्छ ।’
उनले देशभर नेकपा एमालेप्रति कर्मचारीको आकर्षण बढेको बताए । उनले कर्मचारीका संगठन र नेकपा एमाले भावनात्मक रुपमा एकताबद्ध भएको बताए । ‘हामीले एकताबद्ध भएर नै अगाडी बढ्न सकेमा हाम्रा समस्या सामाधान गर्न सहज हुन्छ’ उनले भने ‘एकताबद्ध भएर जनताका बिचमा जानुपर्छ ।’

उनले स्थानिय चुनाव नजिकिदै गएकाले चुनावका लागि पार्टीका सबै संगठन आवद्ध कर्मचारीहरुले पनि खट्नुपर्ने बताए । उनले कर्मचारी पनि भोलीका दिनमा राजनीतिमा आउन सक्ने बताए ।
‘अहिले धेरै जना कर्मचारीबाट नेता बनेका छन । प्रचण्ड, माधव नेपाल कर्मचारीबाट नेता बनेका हुन’ उनले भने ‘तपाइहरुलाई पनि भोलिका दिनमा कर्मचारीबाट नेता बन्ने मन लाग्न सक्छ । त्यसैले हामीले भावनात्मक रुपमा नजिक हुन आवश्यक छ ।’
उनले गोदावरी नगरपालिकामा करारका कर्मचारी राखिएका भएपनि ति कर्मचारी अर्को सरकार आएर हटाउन सक्छ भन्ने कुरा गलत भएको बताए ।

गोदावरी नगरपालिका अधिवेशन आयोजक समितिको आयोजनामा भएको अधिवेशनमा संगठनमा आवद्ध कर्मचारीहरु तथा एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अधिवेशनबाट नगर कार्यसमिति चयन गरिने भनिएपनि बुधबार समय अभाव देखाउँदै शुक्रबारका लागि बन्द सत्र सारिएको छ ।


















