खाेज्नुहाेस

धान उत्पादन पाँच वर्ष यताकै कम, सुदूरपश्चिममा ३१.४९ प्रतिशतले धान उत्पादन घट्यो

Image

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण यो वर्ष धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ५१ लाख ३० हजार ६०४ मेट्रिकटनमात्र उत्पादन भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार गत वर्षको तुलनामा चार लाख ९० हजार ३९६ मेट्रिकटन धान उत्पादन कम भएको हो । सात प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्र अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । गण्डकी प्रदेशमा २.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ भने अन्य ६ प्रदेशमा उत्पादन घटेको छ ।

attariya hospital

मन्त्रालयका अनुसार सुदूरपश्चिममा गत वर्षको तुलनामा ३१.४९ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । यस्तै, लुम्बिनी प्रदेशमा १८.३८, प्रदेश १ मा ०.९३, प्रदेश २ मा ५.२४, बागमती प्रदेशमा ०.३५ र कर्णालीमा ८.७६ प्रतिशतले धान उत्पादनमा कमी आएको छ ।

मन्त्रालयका अनुसार पाँच वर्ष यता यो वर्ष सबभन्दा कम धान उत्पादन भएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने २०७५÷०७६ मा ५६ लाख १० हजार ११ मेट्रिकटन, २०७४÷०७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिकटन र २०७३÷०७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

navjiwan hospital

गत आर्थिक वर्षको तुलनामा यस वर्ष धान बाली लगाइएको क्षेत्रफलमा करिब चार हजार हेक्टर वृद्धि भए पनि उत्पादकत्वमा ८.६१ प्रतिशतले ह्रास आइ ३.४७ मेट्रिकटन प्रतिक हेक्टर कायम भएको अनुमान गरिएको कृषि मन्त्रालयका प्रवक्ता डा. कुमार सञ्जेलले जानकारी दिए ।

बेमौसमी वर्षाले सुदूरपश्चिमको कैलाली, कञ्चनपुर तथा लुम्बिनी प्रदेशको बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने बेलामा पारेको क्षतिले समग्र राष्ट्रिय उत्पादनमा कमी आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समग्र कृषिमा धानको योगदान १५ प्रतिशत छ भने देशकै कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा ३.३ प्रतिशत योगदान छ । धान उत्पादनमा आएको ह्रासले जीडीपीमा थोरै भए पनि असर पार्ने देखिएको छ । नेपालको कुल जीडीपी ४२ खर्ब रुपैयाँ छ भने धानको योगदान एक खर्ब ६४ अर्ब रुपैयाँ छ ।

एक तथ्यांक अनुसार, २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ मेट्रिक टन धान उत्पादन हुन्थ्यो । ६१ वर्षपछि अहिले प्रतिहेक्टर ३.४७ मेट्रिक टन उत्पादन भए पनि यो अवधिमा खपत तीन गुणाले वृद्धि भएको छ ।

कृषि मन्त्रालयका अनुसार १० वर्षअघि नेपालमा वार्षिक प्रतिव्यक्ति ९० किलो चामल आवश्यक हुने गर्दथ्यो तर अहिले १३६.५ किलो पुगेको छ । नेपालमा विदेशबाट वार्षिक करिब २९ अर्ब रुपैयाँ भन्दा बढीको चामल आयात हुने गरेको छ । यो वर्ष धान उत्पादन घटेकाले चामलको आयात झन् बढ्ने देखिन्छ ।