अत्तरिया – एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिममा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ ।
डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुुुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ । तर, विश्वभर डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने गरिएको मानिन्छ ।

यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ ।
यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटीलगायतका डोटेली खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।

पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झन्डै २० फिट लामो) दाउराको मूढोको आगो ताप्नुपर्ने र एक–अपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ ।
गुरुङ समुदायमा ‘तमु ल्होसार’
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज (पुस १५ गते) ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसैबिच सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले देशभर बिदा दिने निर्णय भएको जानकारी दिए ।
















