धनगढी – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ३ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ्ग, कर्णाली प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरिएको छ ।
मंगलवार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सोमवार बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायको प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’


यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम राष्ट्रपति भण्डारीले तीन वटा प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन ।
यो सँगै प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रमुख गोविन्द कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादव पदमुक्त भएका छन ।

















