खाेज्नुहाेस

राष्ट्रपतिद्धारा भाइटीकाको शुभकामना

Image

काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले शनिवार जारी गरेको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गरिन् ।

attariya hospital
navjiwan hospital

उनले सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।

‘झिलिमिली बत्तीको उज्यालोले औंसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो,’ राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘दिपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’

तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ । ‘तिहारका अवसरमा देउसी, भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँछ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यसका साथै देउसी, भैलोको दक्षिणाबाट संकलित रकमबाट विद्यालय, चौतारा, धारा, पाटीपौवाको निर्माण तथा मर्मतसम्भारजस्ता सामुदायिक हितका रचनात्मक कार्य गर्ने असल परम्परा समेत तिहार पर्वसँग जोडिएका छन्, हाम्रा चाडपर्वसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई हामीले जगेर्ना गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’