काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् ।
महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनैपनि नेपाली नरहेको दाबीसमेत गरे ।


उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वानसमेत गरे ।
एमसीसीको विरुद्धमा सोमबार काठमाडौँको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ? भनि प्रश्न पनि गरे ।
उनले भने, ‘हामी लड्छौँ। कुनै पनि हालतमा एमसीसीलाई लागू हुन दिँदैनौँ। यो कुनै लुकाइछिपाइको कुरा छैन । आज पनि हामी भन्छौँ–एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ। नेपालको स्वतन्त्रताको विरुद्धमा छ। नेपाली जनताको अधिकारको विरुद्धमा छ। कुनै पनि देशले हाम्रो देशमाथि जबरजस्ती सन्धि लाद्न पाउँदैन ।’

















