धनगढी – निर्वाचन अधिकृतले समन्वय नगरी एकलौटी ढंगले गरेको वडा अधिवेशन स्वीकार नगने नेपाली कांग्रेस डडेल्धुराले बताएको छ ।
डडेल्धुरा पार्टी सभापति कर्णबहादुर मल्ले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्य समितिको समन्वयमा गरेको अधिवेशनलाई मात्रै स्वीकार गर्ने स्पष्ट पारेका छन् ।
सभापति मल्लले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अन्यायमा परेका क्रियाशील सदस्यको पीडामा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा कहिँकतै संवेदनशिल देखिनुभएन ।


’ जिल्ला कार्य समितिले अधिक लचकताका साथ राखिएको प्रसतावलाई समेत साथीहरुले अवज्ञा गर्दै भदौ २५ गतेका दिन राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै केन्द्रीय सभापति ज्यूको हस्तक्षेपमा पार्टी भित्रको आन्तरिक अधिवेशन कडा सुरक्षाको घेरा भित्र केही सिमित क्रियाशिल सदस्यहरुको मात्र उपस्थितिमा कथित वडा अधिवेशनमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘उक्त प्रक्रिया पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको नेपाली काँग्रेस डडेल्धुराको ठहर रहेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘केही सिमित क्रियाशील सदस्यहरुलाई सुरक्षाको घेरा भित्र राखिएर अधिवेशन नेपाली काँग्रेस डडेल्धुराले स्वीकार गर्न सक्दैन ।’
‘वडा अधिवेशन गर्न नसकिने भनि नेपाली काँग्रेस डडेल्धुराको भाद्र २२ गतेको निर्णय तथा भाद्र २३ गतेको वडा सभापति र पालिका सभापतिको बैठकले क्रियाशिल सदस्यताको विवाद सामाधान गरेर मात्र अघि बढ्न र तत्काल अधिवेशन स्थगन गर्ने भनि निर्णय गरेको थियो’ विज्ञप्तीमा भनिएको छ, ‘एकथरी साथीहरुले निर्वाचन अधिकृतलाई आफ्नो अनुकुल बनाई अज्ञात स्थलबाट निर्वाचनको सूचना जारी गर्न लगाइएको र निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले कार्य समितिसँग एउटा फोन समेत नगरी निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाइएको छ ।’
विधिवत रुपमा वडा अधिवेशन नभएसम्म कार्य समिति मातहतका सम्पूर्ण समितिहरु यथावत रहने नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।



















