धनगढी – कोभिड–१९ पहिलो लहरका बखत सरकारले जारी गरेको निषेध आदेशका कारण हर्सोल्लासका साथ मनाउन नपाएका कैलाली र कञ्चनपुर लगायत पश्चिम नेपालका थारु समुदायले यस वर्ष भने निषेध आदेश हटाइएको र कोरोना संक्रमण दर सामान्य अवस्थामा रहेकले हर्सोल्लासका साथ मनाइरहेका छन् । पहिलेको वर्ष झै यो वर्ष पनि अट्वारी पर्वमा गाउँ घरमा बाक्लै चहल पहल र धुमधामका साथ थारु समुदायले मनाइरहेका छन् ।
यो वर्ष अट्वारी पर्व भोली (भदौ २७) गते परेको छ । थारु समुदायले अट्वारी पर्वलाई निराहार व्रत बसेर दुई दिनसम्म मनाइने गर्दछन् । प्रकृति पूजक थारु समुदाय अट्वारी पर्वमा सूर्यको उपासना गर्ने गरिन्छ ।

अट्वारी, थारू समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा लिईन्छ । विशेष गरेर पुरुषहरु निराहार व्रत बसेर बिवाहित दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाउँने गरेपनि स्वच्छाले केही महिलाहरु पनि व्रत बस्ने गर्छन ।
आईतवार मनाउने अट्वारी पर्व पहिले भदौदेखि दसैसम्मको सबै आइतबार व्रत बसेर मनाइने गरिन्थ्यो । पछि, कुसे औंसीदेखि पाँच आइतबार मनाइएको र अचेल दुई दिन मात्रै मनाउने चलन रहेको छ ।
व्रत बस्ने व्यक्तिले शनिबारको मध्यरातमा भाले नबास्दै दर खाने चलन रहेको छ । दर खाएकाहरु पहिलो दिन अर्थात आइतबार मध्यान्हसम्म पानी समेत नखाइ व्रत बस्ने गर्दछन् । मध्यान्हमा नुहाइ धुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्नीको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूध लगायतका परिवार खाने गर्दछन् ।
बनाईएका यी सबै परिकारहरु आफूले खानुभन्दा अगाडि एक भाग छुट्टै निकालेर राख्ने चलन रहेको छ । यो दिन व्रतालुहरुले पूजा अराधनापछि सूर्यास्त नहुँदासम्म फलफूल खान सक्ने मान्यता रहेको छ ।
यसैगरी, दोस्रो दिन बिहानै नुहाइ धुवाइ गरेर व्रतालुहरुले अघिल्लो दिनको जस्तै पूजाआजा गरेर पाकेका मिठामिठा परिकार खाने चलन छ । यो दिन विशेष गरी, भात, माछा, मासु, फुलौरी, खरिया लगायतका परिकार खाइन्छ ।
अट्वारीको दोस्रो दिनलाई फरार भनिन्छ । व्रतालुहरुले दोस्रो दिन खाने खानाका परिकार समेत आफूले खानुभन्दा पहिले एक भाग निकालेर छुट्टै राख्ने गर्दछन् । यसरी दुई दिनसम्म छुट्टयाएर राखेको अन्दीको रोटी, फुलौरी, खरिया, खुर्मा, फलफूल, माछा लगायतका परिकार पर्वको दोस्रो दिन आफ्नो विवाहित चेलीलाई उपहारको रुपमा दिने चलन छ ।
यसरी माइतीपक्षले विवाहित छोरीचेलीलाई दिइने उपहारलाई ‘अग्रासन’ भनिन्छ । अट्वारी पर्वमा विवाहित चेलीले माइतको अग्रासन नपाएमा उनको चित्त दुख्ने विश्वास गरिन्छ । त्यसैले सकेसम्म सबै परिवारले अट्वारीको व्रत बस्ने गर्दछन् । अग्नी पूजाको रुपमा सूर्यको पूजा गरेर अट्वारी पर्व मनाउने चलन रहेको थारु बुद्धिजिवीहरुको भनाई छ ।
‘थारु समुदाय प्रकृति पूजक रहेकाले सूर्यको प्रतिक मानेर अग्नीको पूजा गरी अट्वारी पर्व मनाउने गरेको थारु अगुवा माधव चौधरीको भनाई छ । सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अट्वारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घ जीवन मिल्ने थारु समुदायको विश्वास छ ।
किन मनाईन्छ अट्वारी
प्रकृति पुजक थारू समुदायमा खास गरेर योे पर्व सूर्यको पूजा गरेर मनाइन्छ । आईतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह काल रात्रिमा सूर्यको जन्म भयो ।
त्यसपछि योे संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होेइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृति प्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालो दाताको रुपमा गरेका हुन् ।
अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भाई भीम थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिडे । जब लडाइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अट्वारीमा एक पट्टी मात्र रोटी पकाउने चलन छ । अँट्वारीमा भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ ।
भीम, थारू राजा दंगीशरणलाई लर्डामा सहयोग गरेको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरु उनकै पूजा गरेर अट्वारी व्रत बस्ने गरेको धारणा छ । यसरी अट्वारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एक रुपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ ।
अट्वारी पर्व मनाउनुको एउटा कारण महाभारतसंग जोडिएको थारु अगुवाहरुको भनाई छ । पाँच पाण्डव मध्येका माइलो भाई भीम, तावामा रोटी पकाउँदा पकाउँदै त्यसलाई त्यत्तिकै छोडेर लड्न गएको बताइन्छ ।
भीमले तावामा राखेको रोटी एकतर्फबाट मात्रै पाकेकाले अट्वारीमा खाने अन्दीको रोटी पनि थारु समुदायले एकै तर्फबाट मात्रै पकाउने गरेको थारु अगुवा माधव थारुको भनाई छ । थारु राजा दङ्गीशरणलाई पाँच पाण्डव भाई भीमले लडाइमा सहयोग गरेका कारण भीमको सम्झनामा थारु समुदायले अट्वारी पर्व मनाउन थालेको किंबदन्ती रहेको थारु बुद्धिजीवी चौधरीको भनाई छ । यद्यपि, भीम पौराणिक र दङ्गीशरण ऐतिहासिक पात्र भएका कारणले यो किंबदन्ती आफैमा विवादास्पद् रहेको उनको भनाई छ ।
थारु समुदायले प्रकृतिको पूजा गरी मनाउँदै आएको अट्वारी पर्वको सामाजिक महत्व रहेको धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाईका बिनय चौधरीकोको भनाई छ । अट्वारीमा विवाहित छोरी तथा उनको परिवार र माइती पक्षबीचको सम्बन्धलाई सुदृढ बनाउने उनले बताईन् ।
अँट्वारी पर्व मनाउँनेबारे मतमतान्तर
बिवाहित दिदीबहिनीको दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना गरेर अँट्वारी पर्व आईतवार मनाईने गरिन्छ । थारू समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा अँट्वारी पर्व मनाईन्छ ।
विशेष गरेर भाद्र महिनामा पर्ने अँट्वारी पर्व कुनैै साल असोजमा पनि पर्छ । जे जस्तो भएपनि अटवारी धेरैजसो कृष्ण अष्टिम्की पछिको दोस्रो आइतवार अर्थात कुशे औंशी पछिको पहिलो आइतबारलाई अँट्वारी पर्व मान्ने चलन छ ।
अँट्वारी पर्वको विषयमा विभिन्न मतमतान्तर हुँदै आएको भएपनि ठाउँ अनुसार चालचलनमा विविधता छ । यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिए पनि पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने आवाज थारू समुदायका बौद्धिक बहसको विषय बन्दै आएको छ ।

अटवारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अटवारी’ को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार आंशिक रुपमा छुट्की अँट्वारी व्रत बस्ने गरिन्छ ।
यसरी बर्का र छुट्की गरी पाँच आइतबार ‘अँट्वारी’ व्रत बस्ने थारु समुदायमा पुरानो चलन रहेको छ । ‘पाँच अँट्वारी’ पछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अँट्वारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबारलाई अँट्वारी मान्ने चलनको प्रमाण बलियो देखिन्छ । यसरी हेर्दा यस बर्ष कुसे औसी पछिको आइतबार भदौ ७, १५, २१, २८ र असोज ४ गते पर्छ र त्यसपछि दशैं आउँछ ।
केही मानिसहरुको धारणा हिन्दु नारीहरुको हरितालिका तीज अनि ऋषि पञ्चमी पछिको आइतबारलाई अट्वारी मान्ने गर्छन । तर, योे त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने होे भने ‘पाँच अटवारी’ व्रत बस्नेहरुको अट्वारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीज र ऋषि पञ्चमीको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । यो थारु समुदायको मौलिक पर्व पनि होइन । त्यसकारण यसलाई आधारण बनाएर आफ्नो पर्वको समय निर्धाण गर्न पनि उचित देखिदैन ।
थारू वस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरुको बसाइ थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरुको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्वीकारी सकेको अवस्थामा योे कुरा उठ्नु स्वभाविक भए पनि वास्तविकता भने होेइन ।
उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । योे एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर, योे सत्य होेइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ । पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अट्वारी मान्ने समस्या देखापरेको छ ।
यसले पाँच अट्वारी मान्नेहरुको व्रत प्रायः प्रभावित पार्छ । कुनैै कुनैै साल समय अनुकूल नभए (गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण समय हेरेर अट्वारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अट्वारी व्रत बस्नेहरु सबै आइतबार व्रत बस्न सक्दैनन् र अँँटवारी पनि फरक फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ ।
रुपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अटवारी’को विषयमा भने कुनैै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमा जिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ ।
यसरी मनाईन्छ अँट्वारी
अँट्वारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि दर खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ ।
अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनैै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरु भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ ।
आइतबार अथवा अँट्वारीको दिन व्रत बस्नेहरुको खान भान्सामा पाक्दैन । उनीहरु बिहानै नुहाएर घरको प्रवेशद्वारको पहिलो कोठा या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर भान्सामा पहिले प्रयोेग नभएको चोखो आगोमा रोटी पकाइन्छ । पुरानो आगो अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गर्छन् ।
बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रुपमा लिइन्छ । योे पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अट्वारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाई पानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ ।
रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनैै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाईन्छ । खानुभन्दा पहिले अग्यारी दिने चलन छ ।
निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो राखिन्छ । त्यही आगोमा सल्लाको धूप, नौनी र खानका लागि तयार गरिएको बस्तु अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा चढाइन्छ । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ ।
सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी अथवा सूर्यलाई प्रसादको रुपमा आगो दिने चलन छ । आगो दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरुका लागि पहुराको रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ ।
अथवा चेली बेटीहरुलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । योे काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिदैन । दिउँसो नै पूजा गरी खाने चलन छ । योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रुपले बन्द हुन्छ ।
अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा होे । यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरुले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरु बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ ।
फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरु अघिल्लो दिनको जस्तै नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गर्छन् । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रुपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरु अन्न ग्रहण गर्छन् ।
अन्य पर्वमा जस्तै अँट्वारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन । व्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पु¥याउन जाने चलन छ । अग्रासन पु¥याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरु जान्छन् । चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् ।
योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुख दुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ ।
अँट्वारीको खराब पक्ष
सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरु भएको पनि देखिन्छ । यसैगरी, अग्रासनका नाममा बासी खानेकुरा, अनावश्यक खर्च, कुनैै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पु¥याउन नसके चेलीहरुमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ ।
अँट्वारी पर्वमा सार्वजनिक विदा
सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायले आज (भदौ २७ गते) मनाईरहेको अँट्वारी पर्वमा सार्वजनिक विदा दिएको छ ।
२०७८ बैशाख १ गतेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार कैलाली र कञ्चनपुरमा अट्वारीमा सार्वजनिक विदा दिईएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७८ सालको सार्वजनिक विदा सम्बन्धी जारी गरेको सूचनामा २०७८ सालमा ६ वटा पर्वमा सर्वाजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको निर्णय अनुसार भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सुदूरपश्चि प्रदेशभर, भदौ २७ गते अट्वारी पर्वको अवसरमा प्रदेशको कैलाली र कञ्चनुर, असोज ३१ गते गते थप एक दिन दशै पर्वमा सुदूरपश्चिम भर, पौष १८ गते गते अछाम, बाजुरा र बझाङ्ग जिल्लामा मनाइने ‘भुवा पर्व’को अवसरमा, माघ २ गते माघी पर्वको अवसरमा सुदूरपश्चिम भर थप एक दिन बिदा तथा चैत्र ११ गते खखडेहरा पर्वको अवसरमा कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको छ ।















