धनगढी – पश्चिम नेपालका थारु समुदायले मंगलबार आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ (खानाका परिकारको उपहार) दिएर अष्टिम्की पर्व धुमधामका साथ मनाएका छन् ।
व्रतालुहरुले आफू खानु अगावै एक भाग निकालेर राखेको विभिन्न खानाका परिकार विवाहित छोरीचेलीलाई उपहारको रुपमा दिने चलन छ । यसलाई थारु भाषामा अग्रासन भनिन्छ ।

यो उपहार विवाहित छोरीचेलीका लागि थारु समुदायमा अति नै महत्वपूर्ण मानिन्छ । यो दिन छोरीचेलीहरु माइतीको अग्रासन कुरेर बसेका हुन्छन् ।
अग्रासनमा फलफूल, भात, फूलौरी, हलुवा, भात, गेडागुडी, माछा लगायतका परिकार रहने गर्दछ । अष्टिम्कीको पहिलो दिन पानीसमेत नखाएर निराहार व्रत बसेकाहरु भोलीपल्छ अर्थात आजका दिन अन्नसहित मिठा–मिठा परिकार खाने गर्दछन् । यसलाई ‘फह«ार’ भन्ने गरिन्छ । माइती पक्षबाट अग्रासान दिन आएकाहरुलाई विवाहित छोरीचेलीले उच्च सम्मानका साथ स्वागत सत्कार गर्ने थारु समुदायमा चलन छ ।

यसरी मनाइन्छ अष्टिम्की
ब्रतालु महिलाहरू आज अष्टिमकीको पहिलो दिन बिहानै गाउँको भलमन्सा वा बडघरको घरको बहरी अर्थात बैठक कोठाको उत्तरपत्तिको भित्तामा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा सजाउँछन् ।

श्रीकृष्णको दाहिनेपत्ति सूर्य र बाँयापत्ति चन्द्रमाको चित्र बनाइन्छ । दोस्रो लाइनमा सात भाई कौरवहरूको चित्र बनाउने गरिन्छ । तेस्रो भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जाँदा अवस्थाको ‘डोली’, दुलाहालाई पठाउन जाँदा अवस्थाको ‘डोला’, माछा, गंगटा, बाघ, हात्ती, मंयुर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने प्रचलन रहँदै आएको छ ।

यसरी श्रीकृष्ण भगवानको जीवनमा आधारित चित्र सजाई सकेपछि गाउँभरीका महिला तथा युवतीहरू परम्परागत लेहंगा, बिलाउज, चोलियालगायत पहिरनमा सजिएर लाइनबद्ध भएर अष्टिम्की टिक्न जाने थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले बताए । जुन अवस्था निकै रोचक र हेर्नलायक हुन्छ संयोजक चौधरीले भने–व्रतालु महिलाहरूले प्रसादको रुपमा काँक्रो, कुन्द्रु, अम्बा लगायत फलफूल लैजाने गरिन्छ जहाँ पूजा पश्चात लगिएका फलफूल बाँडेर खाने गरिन्छ ।
यता, रातभरी त्यही पूजा कोठामा पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लिला समेतिएको गीत गाउने समेत प्रचलन रहिआएको छ संयोजक चोधरीले भने– अर्को दिनपनि विहानै ब्रतालु महिलाहरूले अघिल्लो दिन झै टिक्ने गर्दछन् । त्यसपछि अघिल्लो र पछिल्लो दिन टिक्ने क्रममा लगिएका विभिन्न पूजा सामग्री नजिकको नदी, खोलामा सेलाउन जान्छन् । त्यहाँबाटै उनीहरू नुहाएर घर फर्कन्छन् ।

उता, घरमा ब्रतालु महिलाहरूका परिवारजनले भात, खरिया, फुलौरी, माछाको सुकुटी, तरकारी, आचारलगायत विभिन्न परिकार बनाएर तयार पारेका हुन्छन् । जुन परिकारलाई ती ब्रतालु महिलाहरूले ‘फरहार’ गर्छन् । विभिन्न परिकारहरूको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्नुलाई थारु समुदायमा फरहार भनिन्छ ।
फरहार पश्चातमात्रै ब्रतालु महिलाहरूले खाना खान्छन् । यसरी फरहारको क्रममा दुना र टपरीमा छुट्याएर राखिएका परिकारलाई आफ्नो विवाहित चेलीबेटीहरूलाई अग्रासन (कोसेली) को रुपमा दिन जाने प्रचलन रहँदै आएको छ ।
यसरी एकातिर, थारु समुदायमा अष्टिम्की पर्व असत्य माथि सत्यको जीतको खुसियालीको रुपमा मनाइन्छ भने अर्कोतिर, विवाहित चेलीहरूलाई अग्रासन दिन जाने प्रचलनले समाजमा भाइचाराको भावना जागृत गर्दै आएको थारु बृद्धिजीवीहरूको भनाई छ ।















