धनगढी – कैलालीको भजनी नगरपालिका–७ चर्राका सुकदेव कठरिया आकाशमा बादल देखेपछि दौडिएर हुलाकी सडक पुग्छन् । उनको गाउँको दक्षिणतर्फबाट मोहना नदी बग्ने गर्दछ ।
उत्तरतर्फबाट बग्ने कान्द्रा नदीले नोक्सान नगर्ने हुँदा उनलाई दक्षिणतर्फ भएर बग्ने मोहना नदीको चिन्ताले सताउँछ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मध्य दक्षिणी क्षेत्रमा रहेको भजनी नगरपालिकाको पूर्वमा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका, पश्चिममा कैलारी गाउँपालिका, उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिका र दक्षिणमा छिमेकी मित्रराष्ट्र भारतको उत्तर प्रदेश राज्यको तिकुनियाँ, बेलरायाँ रहेका छन् ।

साबिक भजनी त्रिशक्ति नगरपालिका र थापापुर गाबिस समाबेश गरि मिति २०७३÷११÷२७ मा घोषणा भएको यस भजनी नगरपालिकाको केन्द्र साबिक भजनी त्रिशक्ति नगरपालिकाको कार्यालय रहेको छ । ९ वटा वडामा विभाजित यस नगरपालिकाको कुल क्षेत्रफल १७६.२५ वर्ग किमि र जनसंख्या ५१८४५ (महिला २६१२९, पुरुष २५७१६) रहेको छ ।
दक्षिणमा रहेको मोहना नदी, नगरपालिकाको बिचबाट बग्ने कान्द्रा, काँढा नदी र पुर्व तिरबाट बग्ने पथरैया नदी नै यस नगरपालिकाका दुःख र संभावनाहरु हुन् । विश्वमा नै लोपोन्मुख जलचर प्राणी डल्फिन यस नगरपालिकाको वडा नम्बर ३ र ८ को दक्षिणी भागमा रहेको मोहना नदीमा दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने देखिन्छ ।
त्यस्तै नगरपालिका क्षेत्रभित्र रहेका तालतलैया बिशेष गरी वडा नम्बर ४ बिजुलियामा लौकहभौकाहा ताललाई समेत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । कैलाली जिल्लाकै सबै भन्दा बढी बाढीको डुबान, कटान, पटानीबाट बर्षेनी सयौ बिगाहा खेतिबाली नोक्सान भई खाद्यान्न अभाव हुने र बस्तीहरु नै जोखिममा रहेका छन् ।
अनि त्रिपाल लिएर सडकमै बस्छौँ साबिकको लालभोजी गाविसले २०६८ मा बसाएको बस्ती हो, कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ पुलियापुर । नजिकै रहेको कान्द्रा नदी पछिल्लो आठ वर्षयता सोही बस्तीमा पस्ने गरेको छ । नदी बस्तीमा पसेपछि हरेक वर्षाको समयमा सो बस्तीका मानिस घरभन्दा पनि सडकमा त्रिपाल लगाएर बस्ने गरेका छन् ।

हुलाकी सडकको किनारामा लगाइएको त्रिपालमुनि थिइन् मातादेवी कामी । छोराछोरी सहित आठ जनाको परिवारसँगै त्रिपालमुनि बसिरहेकी उनले भन्दै थिइन, ‘अझै कति वर्ष यसरी सडकमै बस्नुपर्ने हो !’ उनले घरभित्र पाल्दै आएको बाख्रा, कुखुरा पनि त्यही पालमा आफूसँगै राखेकी थिइन् । सोही बस्तीका रतन कामी दुई सातादेखि घरभित्र गएका छैनन् ।

साबिकको गाउँ विकास समितिले उनलाई यहाँ बसायो । ‘सुरुवातका दुई वर्ष हामीले समस्या भोगेका थिएनौँ’ त्रिपालभित्रै ९ वर्षीय छोरी र श्रीमतीसँगै बसेका उनी भन्दै थिए, ‘अहिले वर्षामा घरभित्रै नदी पस्छ । पानीको सतह घटे पनि हिलाम्मे हुँदा बस्नसक्ने अवस्था छैन ।’ सो बस्तीमा दलित समुदायका १३ घरधुरी रहेका छन् ।
आफनो घर जाने बाटो देखाउँदै स्थानीय अमरबहादुर कामीले भने, ‘नदी यहाँ पस्थेन । पानी परेपछि अहिले यही बाटोबाट बग्छ । आवतजावत गर्न ट्युबको सहारा लिनुपर्छ ।’ घरभित्र रहेका अन्नपात, भान्सा सबै डुबानले बिगार्ने गरेको गुनासो उनले गरे । श्रीमाती सहित ६ परिवार सदस्य रहेका अमरले घरखर्च चलाउनका लागि भारतमा रोजगार गर्ने गरेको बताए । उनले भने, ‘भारतमा कमाएको पैसा खाद्यान्नको जोहो गर्नमै सकिन्छ, छोराछोरीलाई विद्यालय कसरी पठाउने ? उनीहरूका लागि आवश्यक कापी, कलम, विद्यालयको पोसाकको व्यवस्था गर्न पनि समस्या हुने गरेको छ ।’
उनले समस्या समाधानका लागि पटक–पटक राजनीतिक दल, सरोकारवालाहरूलाई गुनासो गर्दा समेत सम्बोधन नगरेकोप्रति आक्रोश व्यक्त गरे । अमरले भने, ‘हरेक वर्षामा हामी सडकमा बसेको देख्दा नेता, जनप्रतिनिधिहरू अवलोकन गर्न आउँछन् ।
समस्या समाधान गर्छु भनी आश्वासन दिन्छन् । तर, अर्को वर्ष फेरि हामी सडकमै त्रिपाल लगाएर बस्नुपर्ने अवस्था आउँछ ।’ भारत र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको हुलाकी सडकका कारण सो बस्ती डुबानमा पर्दै आएको छ । भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले पनि हुलाकी सडककै कारण सो बस्ती डुबानमा पर्ने गरेको प्रतिक्रिया दिए ।
‘हुलाकी सडकले ड्यामको जस्तो काम गरेको छ’ नगरप्रमुख चौधरीले भने, ‘वडा नम्बर ५ को पुलियापुर बस्ती मात्र नभई सोही वडाका हुलाकी सडकवारि र नगरपालिकाको वडा नम्बर ३ र ८ का अन्य बस्ती पनि डुबानले प्रभावित हुनेगरेको छ ।’
भजनी नगरपालिका भएर बग्ने मोहना, कान्द्रा, काडा र पथरिया नदिको बाढी पस्दा र नदिले कटान गर्न थालेपछि स्थानीयहरू प्रभावित हुने गरेका छन । मोहना, कान्द्रा, काडा नदीले धार परिवर्तन गरी कटान गर्न थालेपछि कयौँ बस्ती जोखिममा पर्नुको साथै उनीहरू विस्थापित हुन पुगेको नगरप्रमुख चौधरीले बताए । ‘कान्द्रा नदीको कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ ।
नदी कटानले सयौँ परिवार घरबार विहीन भएका छन’ उनले भने । स्थानीय अमर बहादुर कामीले नदीलाई बस्तीमा पस्न नदिन बृहत् तटबन्धनको कार्यक्रम ल्याउनुपर्ने माग गरे । उनले भने, ‘हुलाकी सडकले गर्दा पानी निकास सहज छैन । त्यसैले नदीलाई बस्तीमा पस्न नदिने गरी तटबन्धनको योजना ल्याउनुपर्छ । यसमा कसैले पहल गर्दैनन् ।’
उनले त्रिपालका सहारामा सडकमा बस्दा राति मच्छरले टोक्ने, सर्प, कीरा लगायतको त्रास हुनेगरेको बताए । भजनी नगरपालिकाले नदी नियन्त्रणको लागि सामान्य तटबन्ध बनाउने बाहेक केही गर्न नसकेको उनले गुनासो गरे । ‘यहाँ निकै ठूलो समस्या छ’, नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले भनिन्, ‘समस्या समाधान हाम्रो एकल प्रयासबाट सम्भव छैन, हामीलाई प्रदेश र संघीय सरकारको पनि साथ चाहिन्छ ।’
काडा, पथरैया, मोहना र कन्द्रा नदीको संगम क्षेत्रका रूपमा रहेको भजनी नगरपालिकामा गत वर्षको साउन १४ मा आएको बाढीले हजारौँ घर डुबानमा परेका थिए ।
भजनी नगरपालिकाका तीन जनाको बाढीमा परी मृत्यु भएको थियो भने ९ हजार ५ सय २१ घरधुरी प्रभावित भएका थिए । बाढी तथा डुबानकै कारण २ हजार ९ सय १ घरधुरी विस्थापित भएको जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांकमा रहेको छ ।















