खाेज्नुहाेस

‘नेपाली सेनाको जागिर छोडेका जयसिंह, विदेश उड्न काठमाण्डौ जादैं थिए’

Image

धनगढी – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएका स्थानीय जयसिंह धामीका आफन्तले भारतीय सीमा सुरक्षा बल (एसएसबी) बिरुद्ध उजुरी दिएका छन् ।

तुइन काट्ने भारतीय सीमा सुरक्षा बल बिरुद्ध जयसिंह धामीका आफन्तले तुइन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका हुन् ।

attariya hospital

घटनाबारे सत्यतथ्य बुझेर मुचुल्का तयार गर्न स्थानीय जोगासिंह धामी र बहादुर सिंह धामीले धार्चुलाको पागला प्रहरीलाई उजुरी दिएका हुन् ।
दार्चुलाको व्यास गाउँपालिका–२ को मालघाटमा तुइनबाट भारततर्फ जाने क्रममा शुक्रबार भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता छन् ।

उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाही गर्न भारत र नेपालका प्रशासनलाई अनुरोध समेत गरेका छन् ।
भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा धामी बेपत्ता भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

घटना यस्तो थियो

व्यास गाउँपालिका–२ मालका जयसिंह धामीसहित ७ जना शुक्रबार दार्चुला सदरमुकाम खलंगा जान मालघाट पुगेका थिए । उनीहरु मालघाटबाट तुइनमार्फत महाकाली नदी तरेर खलंगा बजारसम्मको गन्तव्य तय गरेका थिए ।

वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए । विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनसम्म पुगेका थिए ।

मालघाटमा तुइन सञ्चालन गर्दै आएका तुइन सञ्चालक कल्याण धामीका अनुसार उनीसंगै स्थानीय बहादुरसिंह धामी पनि थिए । ‘एक/एक गरी उनीहरू तुइन तर्न सुरू गरे । भत्ता लिन जाने तीन जना महाकाली तरिसकेका थिए । काठमाडौं जाने हिडेका दुई जना वारि नै थिए’ तुइन सञ्चालक कल्याण धामीले भने, ‘जयसिंह धामी डेढ मिनेट जति तुइन तानेर पारी पुग्नै लागेका थिए । त्यही बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका जवान हतियारसहित पुगे । उनीहरूले रूखमा बाँधेको तार खोले । तार फुत्केर आयो । तारसँग लड्पडिएर जयसिंह महाकालीमा खसे ।’

जयसिंहलाई महाकालीको छेउबाट बगेको मैले देखे तुइन सञ्चालक कल्याण धामीले भने, ‘उनलाई पौडी खेल्न आएन । तलसम्म बगेको देख्यौं । पौडी खेल भनेर सिटी मा¥यौं । २० मिटर तल पुगेपछि उनी डुबे ।’

पूर्व नेपाली सेना जयसिंह विदेश जाने तयारीमा

सात वर्ष नेपाली सेनामा काम गरेका जयसिंह धामी विदेश जाने तयारीमा थिए । भिसा आएको भन्ने खबर आएपछि उनी काठमाण्डौ हिडेका थिए । ‘केही दिन अघि भिसा आएको काठमाण्डौंबाट खबर आएको थियो’ नरेन्द्र धामीले भने, ‘दाई त्यही कामको लागि काठमाण्डौं जाने भनेर हिडेका थिए ।’

बर्खामा त्यही बाटो भएर दार्चुला सदरमुकाम

बर्खामा राप्ला माल गाउँका स्थानीयहरु भारतीय भूमि हुँदै दार्चुला सदरमुकाम खलंगा जाने गर्छन् । नेपाली भूमीबाट खलंगा पुग्न बर्खामा असम्भव हुन्छ ।

navjiwan hospital

‘ठाउँ ठाउँमा सडक भत्केर हिड्न सकिदैन’ वडा नम्बर २ का सदस्य वीरेन्द्र बुढाथोकीले भने, ‘नदीपारि भारतीय गाडी चढेर सदरमुकाम पुग्न सकिन्छ । तुइनबाट महाकाली नदी तरेपछि पुग्न सकिन्छ ।’ नेपालको माल गाउँ र भारतको गस्कु जोड्ने रज्जु मार्ग पुस्तौदेखि नै भएको बताउदै उनले भने, ‘मालपोत कर तिर्न, नागरिकता बनाउँन, नुनतेल किन्न यहि बाटो प्रयोग गर्नुपर्छ ।’

शिलान्यास भयो तर अहिलेसम्म बनेन पुल

बि.स. ०७४/०७५ मा तुइन भएको मालघाटमा पुल बनाउन नेपाल सरकारको तर्फबाट सहमति भएको थियो । सोका लागि ठेक्का सम्झौता पनि भएको थियो । पुल निर्माणको काम सुरू पनि भएको थियो । तर, ठेकदारले अझै बनाइ नसकेको स्थानीयहरुको भनाई छ ।

दार्चुलाका प्रजिअले पिथौरागढका जिल्ला अधिकारीलाई गरे पत्राचार

महाकाली नदीमा तुईन तरेर भारत जादाँ नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानविन गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी जोशीले इमेलबाट पिथौराढका जिल्ला अधिकारीलाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट ‘जोशी’ ले बताए । उनले भने, बोधार्थमा पिथौरागढको धार्चुला तहशिलका उप–जिल्ला अधिकारीलाई पनि सम्बोधन गरेका छौ । उनले नेपालतर्फबाट पनि घटनाबारे छानबिन भइरहेको बताए ।

पिथौरागढका जिल्ला अधिकारीको जवाफ

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले तुइनबाट खसेर नेपाली बेपत्ता घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कुनै संलग्नता नभएको जवाफ पठाएका छन ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे छानबिन गरी जवाफ पठाउन पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जबाफ पठाएका हुन् ।

‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) को घटनामा कुनै संग्लनता नरहेको भन्दै जबाफ पठाइएको छ’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने, ‘तुुइन तरिसकेपछि युुवक आफैं चिप्लेर महाकालीमा खसेका हुुन् जवाफमा भनिएको छ ।’

जिल्ला अधिकारी स्वरुपले पठाएको जवाफमा घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले (एसएसबी) को टोली तयारी अवस्थामा राखेको समेत जानकारी गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

प्रहरी भन्छ, सत्य तथ्य खुलेको छैन

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दे घटनाबारे सत्य तथ्य नखुलेको बताए । उनले भने, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

गृह सचिवको नेतृत्वमा छानबिन समिति

गृह मन्त्री बालकृष्ण खाँणले गृह सचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । छानबिन समितिको सदस्यमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख (डीआईजी) र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् । गृह मन्त्री खाँणले समितिलाई जतिसक्दो छिटो सत्य तथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।