अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको सुन्दर सुदूरपश्चिम कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष हरिदत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् अत्तरिया कृषि हाटबजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नन्दलाल भट्ट रहेका थिए ।
२०७२ साल मंसिर १५ गते अत्तरियास्थित सब्जीमण्डीमा रहेका ५८ जना कृषक एवम् व्यापारीहरुले मिलेर सञ्चालन गरेको सहकारी २०७६ साल वैशाख २२ गते नगरपालिकामा विधिवत रुपमा दर्ता भएको थियो । सुरुवातमा बचत तथा ऋण समुहका रुपमा स्थापित सो सहकारी २०७६ साल बैशाख २२ गते सहकारी ऐन, २०४८ (संसोधनसहित २०७४) अनुसार कृषि सहकारीका रुपमा दर्ता भएको हो ।

स्थानिय गरिब, विपन्न, साना तथा मझौला कृषक र कृषि उद्यमीहरुको आर्थिक तथा व्यवसायीक अवस्था सुधार गर्ने उद्देश्यले स्थापित सो सहकारीमा आर्थिक वर्ष २०८२÷०८३ सम्म आईपुग्दा ६६४ जना शेयरसदस्य पुगेका छन् । संस्थामा सो अवधीमा ६१ लाख १३ हजार ६०० शेयर पुँजी पुगेको संस्थाकी व्यवस्थापक उमा कुमारी बिष्टले बताईन । उनका अनुसार संस्थाले सो आर्थिक वर्षमा २ करोड २० लाख ८२ हजार १९४ रुपैयाको कारोबार गरेको छ । जसबाट संस्थाले ६ लाख ७७ हजार ५१८ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको उनले बताईन ।
साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष हरिदत्त भट्टले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष मान बहादुर बिष्टले प्रस्तुत गरेका थिए । यसैगरी संस्थाको लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखा समिति सदस्य थानेश्वर प्रसाद जोशीले प्रस्तुत गरेका थिए ।
साधारण सभामा उत्कृष्ट बचतकर्तातर्फ बिष्णु कट्टेल र सगराम राना, असल ऋणी तर्फ परमानन्द भट्ट र नन्द बहादुर रावत तथा उत्कृष्ट बालबचतकर्तातर्फ ओबिन कोइराला सम्मानित भएका थिए । संस्थाका उपाध्यक्ष तेज राज पनेरुले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव कमला भट्टराईले गरेकी थिईन ।
नयाँ कार्यसमिति चयन
यसैबिच संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको शनिबार सम्पन्न साधारण सभाको बन्दसत्रले तेजराज पनेरुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा मान बहादुर बिष्ट, सचिवमा थानेश्वर प्रसाद जोशी र कोषाध्यक्षमा कालीमाया भट्टराई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा धर्मराज कडेँल, ललीता रावत, जयराज पनेरु, मेखराज भट्ट, तिर्थराज बडु, तेजलक्ष्मी नौन्याल र चेतन कोइराला चयन भएको संस्थाकी व्यवस्थापक उमा कुमारी बिष्टले बताईन । यसैगरी साधारण सभाको बन्दसत्रले लक्ष्मण भट्टराईको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा लक्ष्मी कुमारी भण्डारी र सुशिला पोखरेल रहेका छन् । व्यवस्थापक बिष्टका अनुसार नयाँ निर्वाचित कार्यसमिति एवम् लेखा समितिलाई शनिबार नै सपथ खुवाईएको थियो ।

















