खाेज्नुहाेस

डडेल्धुरामा पहिरोका कारण विस्थापित परिवार चार वर्षदेखि टेन्टमा बस्न बाध्य

Image

डडेलधुरा – डडेलधुराको आलीताल गाउँपालिका–१, मालागाउँ र भोकागाउँका २४ परिवार चार वर्षदेखि अस्थायी टेन्टमा बस्न बाध्य छन् । पहिरोका कारण २०७९ सालमा विस्थापित भएकाहरूको अहिलेसम्म पुनस्र्थापना हुन सकेको छैन ।

बस्ती पहिरोको जोखिममा परेपछि विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने प्राविधिक अध्ययनले निष्कर्ष निकालेको थियो तर सरकारी प्रक्रिया अघि बढ्न नसक्दा उनीहरू बर्सौंदेखि अस्थायी टेन्टमा बसिरहेका छन् ।

attariya hospital

पुनस्र्थापनाको आश्वासन पाएको लामो समय बितिसक्दा पनि स्थायी आवासको टुङ्गो नलागेपछि प्रभावित परिवारको दैनिकी कष्टकर बनेको छ । हिउँद सुरु भएसँगै चिसो बढ्न थालेको भए पनि आफूहरू जीर्ण टेन्टमा बसिरहेको पहिरो पीडित देवी औजीले दुःखेसो पोखिन । खानेपानी, शौचालय, विद्युत् र स्वास्थ्यसेवा जस्ता आधारभूत सुविधाको अभावमा कठिन जीवन बिताइरहनु परेको उनको भनाइ छ । २०७९ सालको बर्खायाममा पहिरोका कारण मालागाउँको जमिनमा चिरा परेपछि बस्ती बस्न जोखिमपूर्ण बनेको थियो ।

प्राविधिक अध्ययनपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालिएसँगै २४ परिवार गाउँपारि रहेको बस्ती भन्ने स्थानमा अस्थायी रूपमा बस्न थालेको हो । मालागाउँका दानबहादुर औजीले पुनस्र्थापनाको आश्वासन पाएको लामो समय बितिसक्दा पनि समस्या समाधान नभएको बताए ।

पहिरोपछि विभिन्न सरकारी निकाय तथा बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) लगायतका संस्थाले त्रिपाल तथा राहत सामग्री उपलब्ध गराएका थिए । तत्कालीन राहतले केही सहज भए पनि दीर्घकालीन व्यवस्थापन हुन नसक्दा प्रभावित परिवारको समस्या यथावत् रहेको छ ।

डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर रोकायाले विस्थापित परिवारलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय भइसकेको जानकारी दिए । उनका अनुसार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले २४ परिवारको पुनस्र्थापनाका लागि स्वीकृति दिएको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले दुवै गाउँका विस्थापित परिवारलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा सार्ने निर्णय गरेको थियो । आधिकारिक रूपमा प्रशासनमा पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी रोकायले बताए ।