धनगढी– नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । धनगढीमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने बताएका हुन् ।
‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन् । उनीहरूले आफ्नो श्रम, सीप र पुँजीमार्फत देशको अर्थतन्त्र धानिरहेका छन् । सामाजिक र आर्थिक अधिकारको कुरा गर्दै आएका हामीले अब मतदानको अधिकार पनि कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।


नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ७ खर्ब ३ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ । विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्सले विदेशी मुद्रा सञ्चिति, उपभोग र समग्र आर्थिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
महरले देशको अर्थतन्त्रमा योगदान गर्ने नागरिकलाई राजनीतिक निर्णय प्रक्रियाबाट बाहिर राख्नु असमानता भएको उल्लेख गरे । उनले विदेशस्थित नेपाली दूतावासमार्फत मतदान केन्द्र स्थापना, सुरक्षित वैकल्पिक मतदान प्रणाली, मतदाता दर्ता तथा विदेशमा रहेका श्रमिकको सुरक्षा, कानुनी सहायता र सामाजिक सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।
‘देशको अर्थतन्त्रमा योगदान गर्ने नेपालीको मत देशको भविष्य निर्माणमा पनि प्रतिबिम्बित हुनुपर्छ । आगामी निर्वाचनबाटै विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयन गर्नु लोकतन्त्र र राष्ट्रिय अर्थतन्त्रप्रतिको सम्मान हो,’ उनले भने ।




















