काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बुधबार इलिमिनेटरको निर्णायक खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाज आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि यात्रालाई कायम राख्ने र फाइनल नजिक पुग्ने लक्ष्यमा मैदान उत्रनेछन्। आजको खेलमा पराजित हुने टोलीको प्रतियोगिताबाट यात्रा समाप्त हुनेछ भने विजेताले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ। मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

लिग चरणमा सात खेलबाट चार जित र तीन हारसहित ८ अङ्क जोड्दै काठमाण्डु तेस्रो स्थानमा र समान खेलबाट तीन जित, तीन हार तथा एक खेलमा अङ्क बाँड्दै ७ अङ्क जोडेको चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्। काठमाण्डुको नेट रनरेट प्लस ०.३६० रहँदा चितवनको प्लस ०.०११ छ। लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा काठमाण्डुले चितवनलाई १० रनले पराजित गरेको थियो। समग्रमा एनपीएलका अघिल्ला संस्करण र यसपटक गरी ३ खेलमा हेड–टू–हेड हेर्दा काठमाण्डु २–१ ले अगाडि छ।
चितवन राइनोजको ब्याटिङमा रवि बोपारा (१८४ रन) र डाविड मलान (१४९ रन) प्रमुख खम्बा बनेका छन् भने बलिङतर्फ रिजन ढकाल (११ विकेट) र कमलसिंह ऐरी (१० विकेट) ले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उता, काठमाण्डु गोर्खाजका लागि राशिद खान (१८५ रन) र अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नर (१२७ रन) ब्याटिङमा भरपर्दा खेलाडी हुन् भने बलिङमा जाहान्दाद खान (११ विकेट), कप्तान करण केसी र सन्तोष यादव (दुवैले ८–८ विकेट) निर्णायक बन्दै आएका छन्। लिग चरणको अन्त्यमा लगातार दुई हार बेहोरेको काठमाण्डु लयमा फर्कन चाहन्छ भने चितवन अघिल्लो हारको बदला लिँदै दोस्रो क्वालिफायरमा पुग्न लालायित छ।


















