अत्तरिया– दार्चुलाबाट फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदातल दार्चुलाको फैसला कार्यान्वयन गर्ने क्रममा कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ४ जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पशुपन्छीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ५ महिना १४ दिन कैद सजाय तोकिएका महाकाली नगरपालिका–१ लास्कुका ४३ वर्षीय सुरन राम कामी, ३० वर्षीय तेज राम लुहार र २८ वर्षीय जय राम चुनारा पक्राउ परेका छन् ।

त्यस्तै, जुवातास मुद्दामा २ महिना २५ दिन कैद र १८ हजार रुपैयाँ जरिवाना तोकिएका दुहुँ गाउँपालिका–५ दुल्लाका ४५ वर्षीय देव राम पार्कीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका चारै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

















