खाेज्नुहाेस

कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ

Image

अत्तरिया- कञ्चनपुर र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको लालझाडी गाउँपालिका-६ चानदेव खोल्टीपुरबाट भीमदत्त नगरपालिका–१८ का २५ वर्षीय नरेन्द्र डगौरा र २५ वर्षीय डेभिट चौधरी पक्राउ परेका छन् । म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उनिहरुको साथबाट खैरो हेरोइनजस्तो देखिने १९ ग्राम ६८० मिलिग्राम धुलो पदार्थसहित फेला परेको प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

यस्तै, लालझाडी गाउँपालिका–६ चानदेव–बेलडाँडी सडकखण्डबाट कृष्णपुर नगरपालिका–२ बंकका २६ वर्षीय दीपक कठायत र २३ वर्षीया दीपश्री पाल पक्राउ परेका छन्। बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। उनिहरुको साथबाट ६ ग्राम ६८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, कैलालीको भजनी नगरपालिका- ३ सरदार चोकबाट ९२० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित लम्कीचुहा नगरपालिका–५ का ३२ वर्षीय प्रकाश शाही पक्राउ परेका छन्। बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

कञ्चनपुरका दुवै घटनामा इलाका प्रहरी कार्यालय बेलौरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोली खटिएको थियो । पक्राउ परेका पाँचै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।