कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनारलाई सशस्त्र प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

मानव बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न आवश्यक देखिएपछि नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

आवश्यक जाँचबुझ तथा कारबाहीका लागि दुवै युवतीलाई आफन्त नेपालकी कार्यालय संयोजक सुनिता सिनाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक विश्वास खत्रीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । यद्यपि उनीहरू भारत जानुको वास्तविक कारण र मानव बेचबिखनसँग सम्बन्धित कुनै जोखिम भए नभएको विषयमा थप अनुसन्धान तथा पुष्टि हुन बाँकी छ ।





















