खाेज्नुहाेस

आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

Image

अत्तरिया – नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै छ । तिहारको दोस्रो दिनका रूपमा मनाइने यस दिन बिहान कुकुरको पूजा गरी साँझ धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आइतबार लक्ष्मी पूजा, कुकुर तिहार, नरक चतुर्दशी तथा सुखरात्रि परेको छ । यस दिन बिहान कुकुरलाई पूजा गरी माला लगाउने, निधारमा टीका लगाइदिने र मीठा खानेकुरा खुवाउने चलन छ ।

attariya hospital
navjiwan hospital

हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा रक्षकका रूपमा लिइन्छ । कुकुरलाई आज्ञाकारी, इमानदार र बफादार जनावरका रूपमा सम्मान गर्दै तिहारमा विशेष पूजा गर्ने परम्परा रहिआएको छ । महाभारतमा पनि युधिष्ठिरले आफ्नो साथमा रहेको कुकुरलाई नछाडी स्वर्ग जान अस्वीकार गरेको प्रसङ्ग उल्लेख छ ।

त्यस्तै,साँझ घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिनेछ । लक्ष्मीलाई प्रसन्न पार्न घर, आँगन तथा पसलहरू सफा गरी झिलिमिली बत्ती बाल्ने, फूलमाला र दीपले सजाउने तथा घरको मूलढोकादेखि पूजाकोठासम्म दीपावली गर्ने परम्परा छ । लक्ष्मी पूजाको दिन साँझ घरमा लक्ष्मीको आगमन हुने धार्मिक विश्वासका साथ घरको मूलढोकादेखि पूजास्थलसम्म बत्ती बालेर उज्यालो बनाउने गरिन्छ । यस दिन विशेषगरी धन, सम्पत्ति, व्यापार व्यवसाय र पारिवारिक सुखसमृद्धिको कामना गर्दै लक्ष्मीको पूजा गरिन्छ ।

व्यापारी तथा व्यवसायीहरूले पनि आफ्ना पसल र प्रतिष्ठानमा विशेष पूजा गर्ने, नयाँ बहीखाता तथा आर्थिक कारोबारको सुरुवात गर्ने चलन छ । साँझ बालबालिका तथा युवायुवतीले देउसीभैलो खेल्दै रमाइलो गर्ने र घरघरमा दीपावलीको उत्सव मनाउने गर्छन् ।

तिहारलाई फूल, उज्यालो, संगीत र आपसी सद्भावको पर्वका रूपमा पनि लिइन्छ । पाँच दिनसम्म मनाइने यमपञ्चकले मानिस र पशुपन्छीबीचको सम्बन्धलाई समेत उजागर गर्दछ । काग, कुकुर, गाई, गोरु र भाइको पूजा गरिने यस पर्वले प्रकृति, जीवजन्तु र पारिवारिक सम्बन्धको महत्व दर्शाउने धार्मिक तथा सांस्कृतिक मान्यता छ ।