अत्तरिया – तिहार नजिकिएसँगै कैलालीको अत्तरिया बजार रंगीचंगी कृत्रिम मालाले सिंगारिएको छ । बजारका सडक किनारमा बिक्रिका लागि झुन्ड्याइएका विभिन्न रङका मालाले बजार सिंगारिएको हो । तर, बजारमा प्राकृतिक फूलका माला भने कतै पनि देखिएका छैनन् ।
तिहारमा घर, पसल तथा मठमन्दिर सजाउन प्रयोग गरिने सयपत्री, मखमलीलगायत प्राकृतिक फूलका मालाभन्दा कपडाबाट बनाइएका कृत्रिम जताततै छ ।


केहीले कपडाका माला भन्दै प्लास्टिका माला पनि बिक्रि गरिरहेका छन । तिहारमा प्राकृतिक फूलको माला लगाउने परम्परा रहे पनि पछिल्ला वर्षहरूमा कृत्रिम मालाको प्रयोग बढ्दै गएको देखिन्छ । प्लास्टिकका माला बिक्रीमा रोक लगाइएपछि कपडाबाट बनेका कृत्रिम मालाको कारोबार भने बजारमा व्यापक बढेको छ ।
तिहार प्राकृतिक फूल, रंगीन टीका र सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो । विशेषगरी सयपत्री र मखमली फूलको मालाले तिहारको छुट्टै रौनक थप्ने गर्छन् । तर अत्तरिया बजारमा सक्कली फूलका माला देखिनै छाडेको छ ।


















