बाजुरा – सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षण तथा अनुगमन गरेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा पुगेका डीआईजी भट्टराईले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाह, भौतिक तथा प्रशासनिक व्यवस्थापन, प्रहरी परिचालन, अभिलेख व्यवस्थापन र समग्र कार्यसम्पादनबारे जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले जिल्लाको भौगोलिक अवस्था, शान्ति सुरक्षाको वर्तमान स्थिति, प्रहरी जनशक्ति परिचालन, अपराध नियन्त्रण, सुरक्षा चुनौती तथा कार्यालयबाट सञ्चालन भइरहेका प्रहरी गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराएकी थिइन् ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख भट्टराईले भौगोलिक विकटता र विभिन्न चुनौतीका बाबजुद नागरिकको जीउधनको सुरक्षा, शान्ति सुव्यवस्था कायम तथा प्रभावकारी प्रहरी सेवा प्रवाहमा जिल्ला प्रहरी कार्यालय बाजुराले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
उनले नागरिकको सुरक्षा र सेवालाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्ने प्रहरी कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि व्यावसायिकता, अनुशासन, इमानदारिता र जिम्मेवारीबोधका साथ काम गर्न निर्देशन दिए । प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा समेत उनले जोड दिएका छन् ।


















