अत्तरिया – कैलाली जिल्ला स्तरीय स्कुल डान्स कम्पिटिसन सिजन–३ को उपाधि विजेता, प्रथम रनर अप र दोस्रो रनरअपको बाजागाजा सहित भव्य स्वागत गरिएको छ ।
शनिवार १६ प्रतिस्पर्धी मध्येबाट गोदावरी नगरपालिका – १० की डीजी बोहराले उपाधि जितेकी थिइन भने गोदावरी नगरपालिका–४ की प्रियङ्का मल्ल प्रथम रनर अप र गोदावरी नगरपालिका–११ ओलानीकी एलिजा धामी दोस्रो रनर अप भएकी थिइन ।



शनिवार सम्पन्न फाइनल राउन्डबाट छानिएका उनीहरूलाई आयोजकले आज बाजागाजा सहित सम्मान गर्दै अत्तरिया बजार परिक्रमा गरेर घर सम्म पुगाएको हो ।
वन वे डान्स क्याम्पको आयोजनामा गत साउन ८ गतेदेखि सुरु भएको प्रतियोगिताको तेस्रो संस्करणमा जिल्लाभरबाट ६ सय जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगितामा उपाधि विजेता बोहराले ५० हजार १५१ रुपैयाँ, प्रथम रनरअपले ३० हजार १५१ रुपैयाँ र दोस्रो रनरअपले २० हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।




















