अत्तरिया – कैलाली र कञ्चनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर र खैरो हिरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–७ बाट १३९ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित १९ वर्षीय किरण राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार शंका लागेर चेकजाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।


यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित भाइरल रोडबाट ०.५४ ग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ का २४ वर्षीया प्रियका सुनार र २१ वर्षीय प्रविण सुनार रहेका छन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



















