अत्तरिया – नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै सुदूरपश्चिमसहित देशभरका गाउँघरमा चहलपहल बढ्न थालेको छ । रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सहर र विदेश पुगेका नेपाली घर फर्किन थालेपछि वर्षभरि सुनसान रहने गाउँबस्तीमा दसैँको रौनक छाएको हो ।
दसैँलाई परिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने विशेष अवसरका रूपमा लिइन्छ । यही कारण टाढा रहेका छोराछोरी, दाजुभाइ तथा दिदीबहिनी घर फर्किने क्रम बढेको छ । दसैँ मनाउन भारतको दिल्लीबाट फर्किएका चक्र बिकले दसैँमा गाउँघरमै रमाइलो हुने बताए । उनले चाडपर्वका समयमा गाउँघरमा छुटै रौनक हुने बताए । अत्तरियामा भेटिएका डोटी घर भएका उनले दसैँको समयमा यात्रा गर्न भने निकै सास्ती हुने गरेको बताए ।

सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका गाउँबस्तीमा पनि दसैँको माहोल देखिन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर तथा नेपालकै ठूला सहरमा पुगेका मानिस गाउँ फर्किन थालेपछि घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा चहलपहल बढेको छ । सामान्य अवस्थामा सीमित मानिसको बसोबास रहने गाउँमा दसैँका बेला आफन्त र छिमेकीको जमघट बढ्ने गरेको छ ।

दसैँको आगमनसँगै गाउँघरमा सरसफाइ, घर लिपपोत र सजावटका काम पनि तीव्र भएका छन् । परम्परागत रूपमा रातो माटो र कमेरोले घरका भित्ता लिप्ने चलन अझै कतिपय ग्रामीण क्षेत्रमा कायम छ । घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने र पूजाका सामग्री जुटाउने काममा परिवारका सदस्य व्यस्त देखिन थालेका छन् ।
धार्मिक रूपमा पनि दसैँको चहलपहल बढेको छ । घटस्थापनासँगै घरघरमा जमरा राख्ने, दुर्गा भवानीको पूजाआजा गर्ने र नवरात्रका अवसरमा विभिन्न धार्मिक गतिविधि सञ्चालन गर्ने क्रमले पर्वको वातावरण थप उत्साहपूर्ण बनाएको छ । मन्दिर तथा शक्तिपीठमा भक्तजनको उपस्थिति बढ्न थालेको छ ।
दसैँको प्रभाव स्थानीय बजारमा समेत देखिन थालेको छ । खाद्यान्न, लत्ताकपडा, पूजासामग्री र दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चहलपहल बढेको छ । चाडपर्वका लागि किनमेल गर्नेहरूको भीड बढ्दा स्थानीय व्यापार व्यवसायमा पनि गतिविधि बढ्ने अपेक्षा गरिएको छ । गाउँ फर्किएका युवायुवतीले आफन्तसँग भेटघाट गर्नुका साथै बाल्यकालका साथीभाइसँग रमाउने अवसर पाउँछन् । मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने, परिवारसँग बसेर मीठोमसिनो खाने तथा सुखदुःख साटासाट गर्ने परम्पराले दसैँलाई थप विशेष बनाउने गरेको छ ।
तर, दसैँको रौनक केही दिनमा सीमित हुने गरेको वास्तविकता पनि छ । पर्व सकिएपछि रोजगारी र अध्ययनका लागि गाउँबाहिर रहेका मानिस पुनः आफ्नो कर्मथलो फर्किने गर्छन् । यसले गर्दा चाडपर्वमा गुल्जार बनेका गाउँबस्ती फेरि सुनसान हुने गरेका छन् ।


















