खाेज्नुहाेस

दोधारा–चाँदनी पुलका थप दुई पिल्लरमा पनि क्षति पुगेकाे आशंका 

Image

कञ्चनपुर –  महाकाली नदीमा आएको बाढीले क्षति पुर्‍याएको दोधारा–चाँदनीको झोलुङ्गे पुलका थप दुई पिल्लरसमेत फेर्नुपर्ने हुनसक्ने देखिएको छ । पुलको क्षतिग्रस्त संरचनाको स्थलगत अध्ययनमा पुगेको प्राविधिक टोलीले पानीको सतह घटेपछि थप क्षतिको अवस्था स्पष्ट हुने जनाएको छ ।

सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले शुक्रबार पुलको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा बाढीले ढालेको पिल्लरसँगै दायाँ–बायाँका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको अधिकारीले बताए ।

attariya hospital
navjiwan hospital

उनका अनुसार महाकालीमा आएको तीव्र बहावले पिल्लरको फाउन्डेसन आसपासको माटो तथा संरचना बगाएका कारण पुलमा क्षति पुगेको हो । अहिले नदीमा पानीको बहाव उच्च रहेकाले संरचनाको वास्तविक अवस्था यकिन गर्न कठिन रहेको उनले बताए ।

कमजोर देखिएका पिल्लरहरू पनि क्षतिग्रस्त पाइए नयाँ निर्माण गर्नुपर्ने र पुलका अन्य संरचना कमजोर भेटिए तिनलाई खोल्दै पुनः जडान गर्नुपर्ने अवस्था आउन सक्ने अधिकारीको भनाइ छ । त्यसो भए पुनर्निर्माण प्रक्रिया लामो हुने र पुल पूर्णरूपमा सञ्चालनमा ल्याउन करिब एक वर्षसम्म लाग्न सक्ने उनले बताए ।

पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्रै स्रोत पर्याप्त नहुने भएकाले संघीय सरकारको समेत सहयोग आवश्यक पर्ने अधिकारीले बताए । विस्तृत प्राविधिक अध्ययनपछि पुनर्निर्माणको लागत, विधि र आवश्यक बजेटबारे टुंगो लगाइनेछ ।

महाकाली नदीमा आएको बाढीले असोज १४ गते पुलको एक भागमा क्षति पुर्‍याएपछि दोधारा–चाँदनी र भीमदत्तनगरबीचको नियमित आवागमन बन्द छ ।