धनगढी– नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टको जिम्मेवारी खोसिएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले जारी गरेका १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमाने पछि भट्टको जिम्मेवारी खोसिएको हो ।

भट्टको जिम्मेवारी खोसिएसँगै जिल्लाको अधिवेशन सम्पन्न गर्न जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवाललाई विशेष जिम्मेवारी तोकिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले २०८३ असोज ६ गते बडुवाललाई पत्र पठाउँदै १५औँ महाधिवेशनअन्तर्गत कैलालीमा जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न जिल्लाको कार्यवाहक सभापतिको रूपमा काम गर्ने गरी विशेष जिम्मेवारी तोकेको जनाएको हो ।

महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधन सहित) बमोजिम उक्त जिम्मेवारी दिइएको उल्लेख छ । निर्वाचन समितिसँग समन्वय गरी तोकिएको जिम्मेवारी पूरा गर्ने विश्वाससमेत पत्रमा व्यक्त गरिएको छ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका अघि बढाइरहेको छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार जिल्ला अधिवेशनको कार्यक्रम पनि निर्धारित चरणमा अघि बढ्ने उल्लेख छ ।
















