बाजुरा – बाजुरामा पहिरोले ३२ वटा पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ । बाजुरामा राष्ट्रिय प्रशारण लाइनको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ पोल ढलेपछि विद्युत आपूर्ति बन्द भएको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीकाअनुसार सुवाकाँधमा सडकमाथिबाट ठुलो पहिरो खस्दा ७ पोल र वीरेखोला क्षेत्रमा २५ वटा पोल ढलेका छन् ।

गए राति करिब ९ बजे जिल्लाभर विद्युत सेवा बन्द भएकोमा भोलिसम्म पनि सुचारु हुने सम्भावना नरहेको उनले बताए । अवरुद्ध विद्युत सेवा सुचारु गर्न आज दिनभर प्राविधिकको टोली खटिएको भएपनि वर्षा सुरु भएपछि फर्किएको जोशीले बताए ।
अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ के.भी. राष्ट्रिय प्रशारण लाइनको विद्युत सञ्चालनमा रहेको छ । जिल्लामा शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे–मार्तडी सकडखण्डका विभिन्न स्थानमा पहिरो जाँदा विद्युतका पोल तथा प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको छ ।

















