बाजुरा– बाजुरामा अविरल बर्षापछि आएको पहिरोका कारण कर्र्णाली करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा पहिरो खसेपछि करिडोर सडकखण्ड अवरुद्ध भएको हो ।

करिडोर अन्तरगत हिमाली गाउँपालिका– ७ बाधुमा आएको पहिरो पिएस कन्स्ट्रक्सनको जेसिबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथको भुकाह खोलामा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार सडक अवरोध खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

सडक अवरुद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारीसाधन बाटोमा रोकिएका छन् । अहिले जगन्नाथ गाउँपालिकाको जेसिबी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको सूचना अधिकारी भाटले बताए । लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।


















