धनगढी – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कैलाली उद्योग वाणिज्य संघले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघको बुधबार बसेको बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक, व्यवसायी तथा परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई सक्रिय हुन अपिल गरेको छ ।
बैठकले संघका तर्फबाट सरकारको राहत कोषमा उक्त ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने तथा भोटेकोशी बाढीमा परेका सुदूरपश्चिमका पीडित तथा ज्यान गुमाएका परिवारलाई राहत सहयोग उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए । साथै सरकारबाट आधिकारिक वास्तविक तथ्यांक प्राप्त भएपछि थप राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।


बाढीका कारण नदी आसपासका बस्ती, सडक, पुल, व्यावसायिक प्रतिष्ठान तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र ठूलो संख्यामा नागरिक प्रभावित भएकाले विपद्को यस कठिन घडीमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्ने संघले जनाएको छ ।
संघले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य संघका विभिन्न तह, व्यवसायी, सामाजिक संघसंस्था, नागरिक समाज तथा आम नागरिकलाई आ आफ्नो क्षेत्रबाट खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न आग्रह गरेको छ ।
संघले ‘विपद्मा परेकालाई सहयोग गर्नु नै हाम्रो साझा मानवीय दायित्व हो’ भन्ने भावनाका साथ सबै क्षेत्रबाट एकजुट भई उद्धार तथा राहत कार्यमा सहयोग गर्नसमेत अपिल गरेको छ ।



















