बाजुरा– धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा सञ्चालनमा ल्याएको छ। सेवा विस्तारसँगै बडीमालिका पुगेका स्थानीय, तीर्थयात्री, पर्यटक तथा सरकारी–गैरसरकारी निकायलाई मोबाइल तथा इन्टरनेट सेवा सहज भएको छ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा उद्घाटन गर्दै दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए। उनले दुर्गम तथा पर्यटकीय क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकता दिइएको जानकारी दिए।

सेवा सञ्चालनपछि मन्त्री तिमिल्सिनाले बडीमालिकामा टावर स्थापनाका लागि खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवादसमेत गरेका थिए। सरकारले सञ्चार सेवा कमजोर रहेका अन्य दुर्गम क्षेत्रमा पनि क्रमशः सेवा विस्तार गर्ने जनाएको छ।
नेपाल टेलिकमका अनुसार देशभर दूरसञ्चार सेवा विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। नयाँ टावर निर्माण र पुराना पूर्वाधारको क्षमता विस्तारमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल र इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

















