खाेज्नुहाेस

पानी पर्नासाथ छिमेकीको घरमा बास

Image

बैतडी – बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा निरन्तरको पहिरोका कारण सात घर उच्च जोखिममा परेका छन्। गत साउन २६ गतेदेखि खस्न थालेको पहिरोले घर तथा खेतियोग्य जमिनमा क्षति पुर्‍याएपछि स्थानीय पानी पर्नासाथ छिमेकीको घरमा आश्रय लिन बाध्य छन्।

स्थानीय मीना बोहरा, भुवन बोहरालगायतका परिवारका घर, भान्सा र शौचालयमा क्षति पुगेको छ। पहिरोका कारण रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भीरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेका छन्।

attariya hospital
navjiwan hospital

स्थानीयका अनुसार २०७८ सालदेखि पहिरो निरन्तर खस्दै आएको छ। पटकपटक दीर्घकालीन रोकथामको माग गरे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। घरमाथिको जमिन चर्किएको, खानेपानीको समस्या रहेको र पहिरोले बाटो बगाउँदा विद्यार्थीलाई आधा घण्टाको दूरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने अवस्था छ। स्थानीयले बस्ती नै सुरक्षित स्थानमा सार्न माग गरेका छन्।

पहिरोले रातापानी क्षेत्रमा ४० रोपनीभन्दा बढी खेतियोग्य जमिनमा क्षति पुर्‍याएको वडा अध्यक्ष भानबहादुर बोहराले बताए। स्थानीय गम्भीर बोहराको मात्रै करिब १५ रोपनीभन्दा बढी जमिनमा लगाइएको मकैबाली पहिरोले बगाएको छ। बाँकी जमिनसमेत चर्किएकाले थप क्षतिको जोखिम रहेको स्थानीयको भनाइ छ।

शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणपछि प्रजिअ अर्यालले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

बस्ती स्थानान्तरणका लागि टेन्ट, त्रिपाललगायत सामग्रीको व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताइन्। पहिरोका कारण अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आइसकेको र खानेपानीको समस्या समाधान गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिइन्।