बैतडी– बैतडीस्थित महाकाली भन्सार कार्यालय झुलाघाटले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्य भन्दा १६.७६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।
कार्यालयले गत आर्थिक वर्षका लागि ९० लाख ९५ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । तर कार्यालयले सो आर्थिक वर्षमा लक्ष्यभन्दा १६.७६ प्रतिशत बढी अर्थात १ करोड ६ लाख १९ हजार ३१९ रुपैया बराबर राजश्व संकलन गरेको छ ।


भन्सार कार्यालयका प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको जानकारी दिए । उनका अनुसार सङ्कलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो ।
सो भन्सार कार्यालयबाट निर्यात भने शून्य नै रहेको प्रमुख सिंहले जानकारी दिए । कार्यालयका अनुसार भन्सार महसुलबाट २६ लाख ६८ हजार ७८७, पैठारी सेवा दस्तुरबाट २ लाख १२ हजार ५००, मूल्य अभिवृद्धि करबाट २१ लाख ४२ हजार १५५, अन्तःशुल्कबाट १ लाख २२ हजार ७०४ तथा दण्ड, जरिवाना, धरौटी र लिलामबाट ५४ लाख ६१ हजार १७३ रुपैया राजस्व सङ्कलन भएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि कार्यालयले ९२ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले १ करोड ५ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको भए पनि ७७ लाख ७० हजार अर्थात् लक्ष्यको करिब ७४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको थियो ।
प्रमुख सिंहका अनुसार पछिल्लो समय बैतडीका अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै कैलाली र कञ्चनपुरबाट थोक व्यापारीले पसल तथा गोदामसम्मै सिधै सामान पु¥याउन थालेका कारण झुलाघाट नाकाबाट हुने आयात घट्दै गएको छ ।

















