अछाम – अछामको कमलबजार–मानसैन सडकखण्डमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कुइकाबाट कमलबजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिकैको ‘ओखडको रुख’ भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कमलबजार नगरपालिका–५ का केशवराज उपाध्याय, बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन् । घाइतेमध्ये बेला भण्डारीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोजकुमार कैलाले जानकारी दिए । घाइते तीनै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसैन पठाइएको छ ।

अटोमा सवार चालकसहित अन्य एक जना यात्रु भने सकुशल रहेका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।



















