खाेज्नुहाेस

अत्तरियामा ग्यासको अत्यधिक माग, पूर्ति गर्न धौधौ

Image

अत्तरिया – कैलालीको अत्तरियामा अत्यधिक माग बढेको ग्यास डिलरहरूले बताएका छन् । माग बढ्दा केही ग्यास डिलरहरूले नियमित आउने भन्दा बढी ग्यास आपूर्ति गर्दा पनि पुगाउन धौधौ हुन थालेको बताएका छन् भने केही डिलरले माग गरेको भन्दा कम ग्यास आएकाले समस्या भएको बताएका छन् ।

अत्तरियामा रहेको महाराजा सप्लायर्सका सञ्चालक शेरबहादुर धामीले पहिलाभन्दा कम ग्यास आएका कारण अभाव भएको बताए । ‘पहिला चार गाडी ग्यास आउँथ्यो अहिले २ गाडी आइरहेको छ’ उनले भने ‘मुख्य समस्या मनकामना र भेरीले ग्यास नदिएपछि भएको छ ।’ उनले ३ सय ग्यास बिक्री गर्ने गरेकोमा हाल डेढ सय मात्रै वितरण गरिरहेको बताए ।

attariya hospital

उनले ग्यास पसलमा पुगेको केही समयमै सकिने गरेको बताए । रेडियन्ट र मनकामना ग्यास बिक्री गर्दै आएका उनले मनकामना ग्यास नआएकाले समस्या भइरहेको बताए । उनले मनकामनाले १ महिना देखि ग्यास नदिएको बताए । उनले मनकामनाको १ हजार सिलिन्डर थन्किएको बताए । उनले यसअघि महिनामा ३ हजार मनकामना र ५ हजार जति रेडियन्टको ग्यास बिक्री गर्ने गरेकोमा अहिले रेडियन्टको ग्यास मात्रै आपूर्ति भइरहेको बताए ।

navjiwan hospital

अत्तरिया स्थित भेरी ग्यासको आधिकारिक बिक्रेता एवम् एसडी ट्रेड एन्ड सप्लायर्सकी सञ्चालिका पार्वती भट्टले भने कम्पनीबाट यसअघि जस्तै ग्यासको आपूर्ति भइरहेको भए पनि माग बढ्दा समस्या भएको बताइन । उनले उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर खरिद गरेर मौज्दात राख्न थालेपछि माग धान्न समस्या भएको बताइन । उनले यसअघि दैनिक २५ देखि ३० सिलिन्डरसम्म बिक्री हुने गरेकोमा अहिले एकै पटक १५० भन्दा बढी सिलिन्डर आए पनि केही घण्टामै सकिने गरेको बताइन ।

‘कम्पनीबाट ग्यास आइरहेको नै छ । तर उपभोक्ताहरूले आवश्यकता अनुसार एक सिलिन्डर लिनुको सट्टा स्टकका लागि एकभन्दा बढी सिलिन्डर लैजाने गरेका छन्’ भट्टले भनिन्,‘“त्यसैले ग्यास उपलब्ध गराउन कठिन भइरहेको हो ।’

अत्तरिया स्थित भेरी ग्यासको आधिकारिक बिक्रेता निङलासैनी ट्रेडर्सका सञ्चालक कल्याण सिंह बोहराले मागअनुसार ग्यास प्राप्त नभएको बताए । उनले यसअघि मासिक एक हजार सिलिन्डर ग्यास बिक्री गर्ने गरेकोमा अहिले डेढ सय सिलिन्डर मात्रै आपूर्ति भइरहेको बताइन । उनले ग्यास नपाएपछि एक किन्नेले २ किन्ने समस्या पनि देखिएको बताए । उनले सरकारले आयात बढाउन आवश्यक रहेको बताए । ‘बर्सातको समय भएकाले अहिले दाउरा उपलब्ध हुन पनि समस्या भइरहेको छ’ उनले भने ‘यस्तो अवस्थामा उपभोक्ता एकदमै समस्यामा परेका छन् । यसमा सरकारको ध्यानाकर्षण हुन आवश्यक छ ।’

रेडियन्ट ग्यासको आधिकारिक बिक्रेता सीता शक्ति ट्रेड लिङ्कका कर्मचारी कृष्ण चौधरीले पहिले एक हप्ता १५ दिनमा ५०–६० मात्रै ग्यास बिक्री हुने गरेकाले सोही अनुसार मनाउने गरेकोमा हाल सोही परिणाममा ग्यास मगाउँदा एक छिनमा सकिने गरेको बताए ।

अत्तरियामा ग्यासको आपूर्ति भए पनि मान अनुसार आपूर्ति नहुनु र आपूर्ति भए पनि माग अस्वाभाविक रूपमा बढेका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन समस्या देखिएको छ ।