अत्तरिया – कैलालीमा ट्रकको ठक्करबाट एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ । सोमबार बिहान बर्दगोरिया गाउँपालिका–१, मुडा पुलनजिक भएको दुर्घटनामा सापकोटाको मृत्यु भएको हो ।

सापकोटा सवार से १–०१–००१ ख ३६९५ नम्बरको स्कुटरलाई लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते सापकोटालाई तत्काल उपचारका लागि दोदोधरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बर्दगोरिया गाउँपालिका –१ का वडाध्यक्ष मिठुन गौतमले मुडास्थित घरमा पूजाआजा सकेर बौनियातर्फ जाँदै गरको बेला ट्रकले ठक्कर दिएको बताए ।
घटनापछि इलाका प्रहरी कार्यालय सुखडले ट्रक र चालक नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी थिइन् । स्थानीय राजनीतिमा सक्रिय सापकोटाको असामयिक निधनले एमाले कैलाली तथा सुदूरपश्चिमको राजनीतिक वृत्तमा शोक छाएको छ ।

















