बैतडी – सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने सम्भावना बढेसँगै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरणको पूर्वानुमानअनुसार भदौ १ गतेदेखि ३ गतेसम्म भारी वर्षा हुने र मनसुनजन्य प्रकोपका कारण सम्भावित विपद्को जोखिम रहेकाले बैतडीलाई समेत जोखिमपूर्ण जिल्लाका रूपमा राखिएको प्रशासनले जनाएको छ ।
प्रशासनले भदौ २ गते बिहानदेखि भदौ ४ गते बिहीबार बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर यात्रा नगर्न तथा नदी, खोला र खोलानदीमा पानीको सतह बढ्न सक्ने भएकाले आसपास नजान सर्वसाधारणलाई अनुरोध गरेको छ ।


प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्धारा जारी सूचनामा भदौ २ गते बेलुका ७ बजेदेखि भदौ ४ गते बिहान ५ बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । पक्की सडकमा समेत सावधानीपूर्वक सवारी चलाउन र सतर्कता अपनाउन चालकहरूलाई आग्रह गरिएको छ ।
विपद्बाट तत्काल उद्धार आवश्यक परे जिल्ला प्रशासन कार्यालयले डिईओसीको नम्बर १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले पछिल्लो समय वर्षाका कारण सडक तथा नदीजन्य जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सावधानी अपनाउन निरन्तर आग्रह गर्दै आएको छ ।


















